कैलाली कारागारको अवस्था सामान्य बन्दै, कैदीबन्दीको संख्या यकिन गरेर फर्कियो छानबिन टोली

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kailali karagar final.jpg

सुदूरपश्चिम । कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति एक कैदीको मृत्यु र ४७ जना घाइते हुने गरी भएको झडपपछि उत्पन्न परिस्थिति सामान्य बन्दै गएको जनाएको हो ।

उक्त घटनाको छानबिन गर्न गठित समितिका सदस्य सचिव एवं प्रशासकीय अधिकृत शिवराज जोशीले अवस्था सामान्य बन्दै गएको र घटनाको पुनरावृत्ति हुन नपाओस् भनेर स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको बताए।   

राष्ट्रिय मानवअधिकार आयोगको टोलीको सहजीकरणमा आज कारागारका कर्मचारी र प्रहरीसहितको टोलीले कारागारभित्रका कैदीबन्दीको अवस्था र सङ्ख्या यकिन गरेर फर्किएको उनले बताए । आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख प्रकाशदत्त भट्टले कारागार भित्र ‘ए’ ब्लक र ‘बि’ ब्लकमा बसेका कैदीबन्दीको अवस्थाबारे जानकारी लिई सङ्ख्या यकिन गर्नुका साथै अन्य जानकारी लिइएको बताए ।

उनले भने, “कैदीबन्दीको स्थानान्तरण गर्दा सम्बन्धित परिवारलाई जानकारी नदिएर आफूखुसी गर्ने गरिएको गुनासो छ । यसबाहेक क्षमताभन्दा बढी कैदीबन्दी राख्दा देखिएको समस्या समाधान गरिनुपर्ने, भित्र राखिने प्राविधिक सामानको चेकजाँच गर्ने मेसिनको व्यवस्था र तोकिएको दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।”

प्रदेश कार्यालय प्रमुख भट्टले कैदीबन्दीले दिएको निवेदनबमोजिम आयोगले यही साउन १९ गते कैदीबन्दीको मानवअधिकारका लागि सरकारको ध्यानाकर्षण गराएको समेत जानकारी दिए । त्यसअनुसार आवश्यक कदम नचाल्दा समस्या उत्पन्न भएको जनाइएको छ । 

शुक्रबार भएको झडपबाट घाइते भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।  घटनामा गम्भीर घाइते भएका दुई जनाको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । गम्भीर घाइते अर्का एक जनालाई शनिबार नै थप उपचारका लागि काठमाडौँ लगिएको थियो । अन्य घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव परिवारले बुझ्न मानेका छैनन् । मृतकका परिवारले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरिरहेका छन् ।

कारागारमा गएको बिहीबार पनि कैदीबीच हानाहान भएको थियो । त्यसअघि गत असार २८ गते पनि कारागारमा कैदीबीच कुटाकुट भएको थियो । घटनालगत्तैै कारागारभित्र प्रवेश गर्ने बन्दीगृहमा ताला लगाएर कसैलाई पनि प्रवेश गर्न नदिएका कैदीबन्दीले आज भने आयोगको टोलीसहित सुरक्षाकर्मीलाई प्रवेश गर्न दिएका छन् ।

यहाँ घटनापछि बिहीबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।  

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली कारागारमा घटेको घटनाका बारेमा छलफल गर्न अहिले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीसँग छलफल गरिरहेको जनाइएको छ ।


Facebook Comments