रौतहटको दुर्गा भगवती गाउँपालिका–४ का वडाध्यक्षसँग भारतको पनि नागरिकता, थालियो छानबिन

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/durga bhagwati.PNG

रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामानन्द प्रसादसँग भारतको पनि नागरिकता भएको पाइएको छ । वडाध्यक्ष रामानन्दले भारत बिहारको पूर्वी चम्परानबाट पप्पु यादवका नाममा नागरिकता लिएको खुलेको हो ।

उक्त भारतीय नागरिकताको आधारमा उनले भारत निर्वाचन आयोगको मतदाता परिचयपत्र समेत लिएको पाइएको छ । आफ्नै फोटो भएको परिचयपत्रमा उनले बुबाको नाम भने सियारामप्रसाद यादव उल्लेख गरेका छन् । 

वडाध्यक्ष रामानन्दको नेपाली नागरिकतामा पनि उनले भारतीय नागरिकतामा प्रयोग गरेकै फोटो प्रयोग गरेका छन् । तर नेपाली नागरिकतामा बुबाको नाम भने रामचन्द्र कापड यादव उल्लेख छ ।

यस बारेमा दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले उजुरीबारे आवश्यक कार्बाहीका लागि गृह मन्त्रालय पठाएको र गृहले उजुरीलाई जिल्ला प्रशासन कार्यालय रौतहट पठाएको थियो । सोही उजुरीका आधारमा गत ७ साउनमा जिल्ला प्रशासन कार्यालय रौतहटले रामानन्दसँग सदरमुकाम गौरस्थित कार्यालयमै बोलाएर बयान समेत लिएको छ ।

घटना सम्बन्धमा थप तथ्य बुझ्न नेपालस्थित भारतीय दूतावाससँग पनि पत्राचार गरिएको छ ।

 


Facebook Comments