कांग्रेस शान्ति प्रक्रियाको नायक पार्टी हो : स्वास्थ्यमन्त्री पौडेल

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pradip-poudel.jpeg

तनहुँ । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शान्ति प्रक्रियाको नायक कांग्रेस रहेको बताएका छन् । कांग्रेस तनहुँले सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसका अवसरमा आज भिमाद नगरपालिका–६ मा आयोजना गरेको स्मृति सभामा उनले विगतदेखि नै विद्रोही समूहलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसले प्रमुख भूमिका निर्वाह गरेको उल्लेख गरे ।  

मन्त्री पौडेलले भने, “कांग्रेसले हिंसालाई स्वीकार गर्दैन । त्यसैले हामीमाथि नै  आक्रमण गर्नेसँग मिलेर शान्ति ल्याउने कोसिस गरेका थियौँ, तर आज पनि उही प्रश्न अनुत्तरित छ कल्याण खनालहरू किन मारिएका थिए ?”

लोकतन्त्रका लागि तनहुँबाट धेरै जना सहिद भएको स्मरण गर्दै पौडेलले कांग्रेसमा लागेकै कारण अकालमा ज्यान गुमाउनु परेको र ज्यान लिनेले पनि त्यसको जवाफ दिन नसकेको चर्चा गरे । 

कांग्रेसले कल्पना गरेको वास्तविक सदस्य स्व खनाल भएको भन्दै उनले पार्टीमा उहाँजस्तै सदस्य हुनुपर्ने बताए । पार्टी केन्द्रीय सदस्य पौडेलले भने, “खनाल संस्कार भएको, व्यवहार गर्न जानेको व्यक्ति हुनुहुन्थ्यो । उहाँको त्याग र सङ्घर्षलाई हामी सबैले अवलम्बन गर्नुपर्छ ।” 


Facebook Comments