प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा बोलाउन भारतीय विदेश सचिव आज नेपाल आउँदै


काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन् । परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा २ दिने भ्रमणका लागि नेपाल आउन लागेका उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् । योसँगै प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको भारत भ्रमण हुन लागेको हो ।
प्रधानमन्त्री ओली भदौ अन्तिममा भारतको औपचारिक भ्रमणमा जाने तय भएको छ । परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा भ्रमणको कार्यतालिका सार्वजनिक नगरे पनि प्रधानमन्त्री कार्यालयले ३१ भदौदेखि १ असोजसम्म ओली भारत भ्रमणमा जाने तय भएको जनाएको छ ।
आज दिउँसो १ बजे भारतीय वायुसेनाको विमानबाट काठमाडौं ओर्लेपछि मिश्रीले समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्नेछन् । सो क्रममा कनेक्टिभिटी, विकास सहयोग तथा पारस्परिक अन्य विषयलगायत नेपाल–भारत साझेदारीबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ । सचिव मिश्री सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।
यसैगरी प्रधानमन्त्री ओली भदौको दोस्रो साता चीन जाने भएका छन् । चीनको तियान्जिनमा आयोजना हुने सांघाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन ओली चीन जान लागेका हुन् ।
Facebook Comments