पूर्वराष्ट्रपति विद्या भण्डारीको कार्यक्रममा नजान एमालेको उर्दी जारी

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Bidhya-devi-bhandari-768x375.png

मोरङ। पूर्वराष्ट्रपति विद्या भण्डारीको कार्यक्रममा नजान नेकपा एमालेको संस्थापन पक्षले  उर्दी जारी गरेको छ । एमालेको विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले सामाजिक सञ्जालमार्फत मोरङमा रहेर पार्टीका कार्यकर्ता भेटिरहेकी भण्डारीको कार्यक्रममा नजान निर्देशन दिएका हुन् ।

उनले केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत भदौ ३ गते दिउँसो १२ बजे नेकपा एमाले जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी झुठा प्रचार गरिएको बताएका छन् । 

एमालेको केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट कुनै पनि कार्यक्रम निर्धारण नगरिएको भन्दै झुटो प्रचारसहित भएको कार्यक्रममा नजान आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, 'केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज भदौ ३ गते (मंगलबार) दिउँसो १२ बजे नेकपा (एमाले) जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ। यस सन्दर्भमा स्पष्ट जानकारी गराउन चाहन्छु कि नेकपा (एमाले)को केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै पनि कार्यक्रम निर्धारण गरिएको छैन। साथै, जिल्ला कार्यालय वा विराटनगर महानगरपालिका भित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन। तसर्थ, सो झुटो प्रचारप्रसारप्रति नझुक्किनु हुन सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टीप्रेमी जनसमुदायमा हार्दिक अनुरोध गर्दछु।'

सोमवार भण्डारी विराटनगर गएकी हुन् । उनको स्वागतका लागि यसअघि पूर्वमुख्यमन्त्री एवं कोशीका इञ्चार्ज शेरधन राईदेखि, मुख्मन्त्री हिक्मतकुमार कार्की साथै मन्त्रीहरू विमानस्थल जाने गरेका थिए । तर सोमवार भने भण्डारीको स्वागतमा प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई र एमाले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी मात्र पुगेका थिए ।

 


Facebook Comments