भारत–चीनको सहमतिबारे बोल्यो नेपाल– लिपुलेक हाम्रो अभिन्न भूभाग हो

काठमाडौं। नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताएको छ । बुधबार बेलुका विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको बताएको छ ।
उक्त क्षेत्रका बारेमा भारत र चीन दुवै छिमेकी मुलुकलाई जानकारी गराइसकिएको पनि भनिएको छ । सरकारले कूटनीतिक तवरबाट तथ्य र प्रमाणका आधारमा यसको समाधान गर्न पनि भारतसमक्ष आफूहरु प्रतिवद्ध रहेको बताएको छ ।
परराष्ट्रले नेपाल कूटनीतिक माध्यमबाट उक्त मुद्दामा समाधान खोज्न तयार रहेको भनेको छ । ‘नेपाल–भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ,’ वक्तव्यमा उल्लेख गरेको छ ।
भारत र चीनले नेपाललाई थाहै नदिई नेपाली भूभाग लिपुलेक नाकालाई आपसी व्यापारिक प्रयोजनका लागि खोल्ने पुनः सहमति गरेपछि नेपालले आपत्ति जनाएको हो । लिपुलेकबारे दुई छिमेकीबिच निरन्तर सहमति हुँदै आए पनि नेपाल भने विगत ७१ वर्षदेखि उपेक्षित रहँदै आएको छ । नेपालको सार्वभौमिक अधिकारमाथि प्रहार भएको भन्दै राष्ट्रिय हितको पक्षमा तत्काल आवश्यक कूटनीतिक र राजनीतिक कदम चाल्न विज्ञहरूले सरकारलाई सुझाव दिएका छन् ।
नयाँदिल्लीको भ्रमणका क्रममा सोमबार र मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । ती वार्तापछि दुवै देशले जारी गरेका विज्ञप्तिमा लिपुलेक (लिपुपास) नाका खोल्ने सहमति उल्लेख गरेका छन् ।
Facebook Comments