साईपालमा सडक निर्माण नहुँदा सामान ढुवानी ठप्प, भोकमरीको चिन्ता


बझाङ । बझाङका १२ वटा स्थानीय तहहरूमध्ये ११ वटा स्थानीय तहमा सडक सञ्जालले गाउँबस्ती छोइसकेको छ । ती ११ वटै स्थानीय तहका प्रायः सबै वडामा कच्ची सडक पुगेका छन् र सवारी साधन (जिपहरू) समेत सञ्चालनमा आएका छन् ।
तर, भौगोलिक हिसाबले जिल्लाको आधा भूभाग ओगटेको र सबैभन्दा विकट हिमाली क्षेत्रमा पर्ने साईपाल गाउँपालिकामा भने अहिलेसम्म सवारी साधन त परै जाओस्, कच्ची सडकले समेत पुगेको छैन । साईपालका नागरिकहरूको सडक देख्ने र जिपहरू सञ्चालन भएको देख्ने सपना अहिले पनि अधुरै रहेको छ ।
यद्यपि, साईपालका नागरिकहरूलाई सडक सञ्जालमा जोड्नका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पछिल्लो समय चासो देखाएको छ ।
आर्थिक वर्ष २०७७/२०७८ मा साईपाल गाउँपालिकाले झन्डै १० लाख बजेट विनियोजन गरी डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पारेको थियो । त्यसपछि गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा केही बजेट संघीय सरकार र स्थानीय सरकारको संयुक्त लगानी हुने गरी गाउँपालिकाको जाणलेखबाट सडक कटान सुरु गरेको थियो ।
करिब १ करोड ९० लाख बजेट विनियोजन गरी यस सडक खण्डको काम सुरु समेत भएको थियो । यसै सडकमा सोही आर्थिक वर्षमा चैनपुर–ताक्लाकोट सडक खण्डमार्फत काम सञ्चालन हुने गरी १ करोड बजेट विनियोजन भई सडक कटान गरिएको थियो । यस्तै, यो सडक कटानका क्रममा अन्य झन्डै १ करोड ३० लाख पनि खर्च भएको पाइन्छ । तर, अहिले उक्त सडक कटान गरिएको ठाउँमा पहिरो गएर यहाँका नागरिकहरूलाई हिँड्नसमेत मुस्किल हुने गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा उक्त सडक कटानलाई निरन्तरता दिँदै गाउँपालिकाले ७५ लाख, संघीय सरकारमार्फत १ करोड ९० लाख र १ करोड चैनपुर–ताक्लाकोट सडक खण्डमार्फत सडक कटान सुरु गरेको छ । सडक कटान गरिएका यी ठाउँहरूमा पनि ठाउँ–ठाउँमा पहिरो गएर नागरिकहरूलाई हिँडडुल गर्न समस्या भएको स्थानीय बताउँछन् ।
डीपीआर विपरीत सडक कटान
यो सडक कटानको कार्य ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भन्ने उखानमा लागू भएको छ । पूर्व जनप्रतिनिधिहरूले १० लाख बजेटमा डीपीआर एक ठाउँबाट गरेका थिए । तर, हालका जनप्रतिनिधिहरूले भने उक्त डीपीआर गरेको ठाउँभन्दा अलगै ठाउँबाट सडक कटान गर्ने कार्य गरेको आरोप छ ।
पूर्व गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले आफूहरूले सहज तरिकाले र वनजंगलको पनि कम क्षति हुने गरी प्राविधिकहरूलाई स्थलमै लिएर डीपीआर तयार गरेको बताए । तर, अहिले सडक कटान भने डीपीआर गरेको ठाउँभन्दा अर्कै ठाउँबाट भइरहेको छ । यस सडक कटानमा आर्थिक चलखेल भएर डीपीआर गरेको ठाउँभन्दा अर्कै ठाउँबाट सडक कटान गरिएको आरोप पूर्व जनप्रतिनिधिहरूको लगाएका छन् ।
यस आर्थिक वर्ष २०८२/०८३ मा पनि संघीय सरकारबाट क्रमगत रकम ९ करोडमध्ये २ करोड ३५ लाख विनियोजन भएको छ । जसमध्ये २० प्रतिशत अर्थात् ४७ लाख गाउँपालिकाले बेहोर्ने गरी जम्मा २ करोड ८२ लाख खर्च गर्नुपर्ने देखिन्छ । प्रदेश सरकारबाट पनि यसै आर्थिक वर्षमा १ करोड ४० लाख बजेट विनियोजन गरिएको छ । यस रकमको २० प्रतिशत अर्थात् २८ लाख थप गाउँपालिकाले बेहोर्ने गरी काम हुने प्रमुख प्रशासकीय अधिकृत जयराज जोशीले बताए ।
संघीय सरकारमार्फत समपूरक २ करोड ३५ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए । यस्तै, चैनपुर–ताक्लाकोट सडक खण्डमार्फत काम हुने गरी ३ करोड रकम विनियोजन भएको र अब टेन्डर गर्ने प्रक्रियामा चैनपुर–ताक्लाकोट सडक खण्ड रहेको छ ।
दुई आर्थिक वर्ष २०८०/२०८१ र २०८१/०८२ गरेर यस सडक खण्डमा ६ करोड ५५ लाख रकम खर्च भइसकेको छ । तर, अहिले कटान गरिएको सडकमा सवारी साधन सञ्चालनको कुरा जटिल नै देखिन्छ । यस सडक खण्ड भएर ओहोरदोहोर गर्नका लागि पनि यहाँका नागरिकहरूलाई समस्या भइरहेको छ । आफ्नो ज्यानको जोखिममा राखेर हिँड्नुपर्ने परिस्थिति सिर्जना भएको स्थानीयको भनाइ छ । सडक कटान भएको अधिकांश ठाउँमा पहिरो गएर बाटो नै अवरुद्ध भएको र पहिरोमा नै ओहोरदोहोर गर्नुपर्ने भएका कारण दुर्घटनाको उच्च जोखिम छ ।
सडक कटान हुनु पूर्व दैनिक उपभोग्य वस्तुहरू ढुवानी गर्नका लागि खच्चड, भेडा तथा च्याङ्ग्राहरू ओहोरदोहोर गरेर दैनिक उपभोग्यका सामानहरू ढुवानी हुने गरेको थियो । साईपाल गाउँपालिका–३ का स्थानीय गोपालबहादुर बोहराले भने, ‘२ वर्षअघि सडक कटान गर्नुअघि घोडा, खच्चर, भेडा, च्याङ्ग्रामार्फत विभिन्न सामानहरू तथा विभिन्न सामग्रीहरू गाउँसम्म ढुवानी गर्न निकै सजिलो भएको थियो । अहिले मानिस हिँड्नलाई नै मुस्किल छ ।’
यसमा स्थानीय सरकारले अहिलेसम्म चासो दिएको छैन । खाद्यान्न केही पनि ढुवानी हुन सकेको छैन । गाउँघरमा लगाएको अन्नबाली ३ महिनालाई पनि राम्रोसँग खान नपुग्ने र भोकमरी हुने चिन्ताले सताउन थालेको उनको भनाइ छ ।
कुवा-जाणलेख सडक खण्ड अलपत्र
साईपाल गाउँपालिकाले आफ्नो क्षेत्र जाणलेखबाट सडक कटान सुरु गरेर सम्देउसम्म पुर्याएको छ । त्योभन्दा तल अर्थात् जाणलेखदेखि कुवासम्मको सडक कटान कार्यमा भने दुवै पालिकाले चासो दिएको छैन । झन्डै ५–७ किलोमिटर सडक कटानको कार्य बन्द छ । गाउँपालिकाले उक्त क्षेत्र आफ्नो क्षेत्रभित्र नपर्ने भएका कारण जाणलेखबाट सडक कटान सुरु गरेको देखिन्छ ।
यता तलकोट गाउँपालिकाले पनि उक्त क्षेत्र आफ्नो क्षेत्रभित्र पर्ने भए पनि तलकोटको बसोबास र ओहोरदोहोर न्यून हुने भएकाले सडक कटानलाई त्यति प्राथमिकतामा पारेको पाइँदैन । साईपाल गाउँपालिकाले तलकोट गाउँपालिकाले सडक कटान गर्नुपर्छ भन्ने सोच अघि बढाएको छ भने यता तलकोट गाउँपालिकाले पनि बढीभन्दा बढी उक्त बाटो साईपालका बासिन्दाले प्रयोग गर्ने भएका कारण त्यति चासोको रूपमा लिएको पाइँदैन ।
कुवा र जाणलेखको बीचको दूरीमा भने सडक कटानको कुनै सुरसार पनि देखिँदैन । दुवै गाउँपालिकाको एक आपसमा कुरा नमिलेका कारण अहिले उक्त सडक कटान गर्ने कार्य अलपत्र छ । कुवा र जाणलेखको बीचमा तलकोट गाउँपालिकाका स्थानीय बासिन्दा लोकण्डवासीको बसोबास रहेको छ । यहाँका नागरिकहरूले साईपाल गाउँपालिका जाने मुख्य सडकलाई आफ्नो गाउँ भएर लैजानुपर्ने माग राख्दै आएका छन् । यदि उक्त ठाउँ भएर सडक नलिएको खण्डमा आफ्नो क्षेत्रबाट सडक सञ्चालन गर्न नदिने दाउमा यहाँका स्थानीय बासिन्दा छन् । जसका कारण उक्त ठाउँमा सडक कटान गरी अघि बढ्ने वातावरण पनि रहेको देखिँदैन ।
यस विषयमा दुवै पालिकाका जनप्रतिनिधि बसेर छलफल गरी अघि बढ्न जरुरी रहेको छ । जसका कारण बीचमा काट्न बाँकी रहेको सडक कटान गरेर अघि बढे मात्रै साईपालवासीको सपना साकार हुने देखिन्छ । यता साईपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले यस विषयलाई आफूहरूले गम्भीरतापूर्वक लिएको र यसै वर्षमा यो विषयमा छलफल गरी समस्याको समाधान गर्न लागी पर्ने बताए ।
दैनिक उपभोग्य वस्तुको अभाव
अहिले साईपाल गाउँपालिकाका ५ वटै वडामा दैनिक उपभोग्य सामानहरू पाइनै छोडेको छ । सबैका पसलहरूमा राखेका सबै दैनिक उपभोग्य वस्तुहरू र अन्य सामान सकिएर रित्तो भएका छन् । सबै सामानहरू सकिनुको एउटै कारण कटान गरिएको सडकमा दर्जनौँ ठाउँमा पहिरो गएर सामान ढुवानी गर्न नसक्नु र दैनिक उपभोग्यका वस्तुहरू ढुवानी गर्ने खच्चड, भेडा र च्याङ्ग्राहरू हिँड्नका लागि बाटो नभएर हो ।
स्थानीय बजिर बोहरा भन्छन्, ‘यदि समयमा नै बाटो खुलाउने काम स्थानीय तहबाट नभएको खण्डमा साईपाल गाउँपालिकाका सबै वडाहरूमा भोकमरी हुने निश्चित छ । दैनिक उपभोग्य वस्तुहरू पनि सकिन लागेका छन् । अहिलेसम्म बाटो खुलाउनका लागि कुनै पहलसम्म पनि भएको छैन । यहाँका जनप्रतिनिधिहरू कानमा तेल हालेर बसेका छन् । रित्तै हिँड्न पनि गाह्रो छ । यस्तो ठाउँमा भारी बोकेर हिँड्नका लागि सोच्न पनि नसकिने कुरा हो ।’
साईपाल गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष जङ्गवीर बोहराले समेत यहाँका नागरिकहरूले वर्षैपिच्छे बाटोघाटो नभएका कारण भोकमरीको सामना गर्दै आउनु परेको बताए । ‘अहिले सबै वडाहरूमा खाद्यान्न ढुवानी गर्न सकेको छैन । यस विषयमा स्थानीय सरकारले चासोसम्म दिन सकेको छैन । सडक पनि मनोमानी ढङ्गले कटान गरेका कारण ठाउँ–ठाउँमा पहिरो गएर मानिसहरूलाई ओहोरदोहोर गर्न पनि मुस्किल हुने गरेको छ’ वडाध्यक्ष बोहराले भने, ‘बाटो अवरुद्ध भएपछि व्यापारीहरूले पनि दैनिक उपभोग्य वस्तुको मूल्य बढाउन थालेका छन् ।’
उनले अगाडी थपे, ‘पहिला चैनपुरदेखि धूलिसम्मको बाटो अवरुद्ध भए पनि नजिकै ताक्लाकोटसँग जोडिएको तिब्बतमा पुगेर भए पनि दैनिक उपभोग्यका सामानहरू खरिद गरेर ल्याउने गरेका थियौँ । अहिले यहाँको बाटो पनि बन्द भएको छ । नाका बन्द भएका कारण पनि कुनै पनि वस्तु खरिद गरेर ल्याउन सक्ने वातावरण छैन ।’
यता गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले यस विषयमा आफूहरूको ध्यान गएको बताए । तत्कालै बाटो खुलाउनका लागि स्थानीयहरूलाई लगाएर भए पनि आफूहरू काम गराउने पक्षमा रहेको बताए । ‘सडक कटान गरेपछि वर्षाको समयमा लगातार आएको वर्षाका कारणले ठाउँ–ठाउँमा पहिरो गएर बाटो जोखिमपूर्ण र अवरुद्ध छ,’ उनले भने, ‘उक्त बाटो सञ्चालन गर्नका लागि एक हप्ताभित्र सुरु हुन्छ ।’
तत्कालै एक्स्काभेटर भएको (मेसिनको) ब्याट्री डाउन भएर मेसिन नै बन्द भएका कारणले यस्तो समस्या आएको अध्यक्ष बोहरा बताउँछन् । ‘मेसिनबाट सम्भव भए मेसिन प्रयोग गरेर भए पनि बाटो खुलाउने काम हुन्छ’, उनले भने, ‘मेसिन सञ्चालन नभएको खण्डमा पहिरो गएको ठाउँहरूमा बाटो सञ्चालन गर्न स्थानीयको सहयोगमा गाउँपालिकाले काम गर्छ ।’
डीपीआर गरेको ठाउँभन्दा फरक ठाउँमा सडक कटान गरेर लिएको विषयमा अध्यक्ष बोहराले सर्वे तथा डीपीआर गरेको ठाउँभन्दा बाहिर लिनुको कारण डीपीआर गरेको ठाउँमा चट्टान नै चट्टान भएको बताए ।
डीपीआर भएको ठाउँमा सडक कटान गरेर लिँदा साईपालमा ढिला गरी कम्तीमा पनि २ वर्ष ढिला सडक पुग्ने भएका कारण प्राविधिक र स्थानीयहरूको सल्लाह अनुसार नै फरक ठाउँबाट सडक कटान गरेर लिनु परेको अध्यक्ष बोहराले बताए ।
Facebook Comments