वीरगन्ज महानगरपालिकाको छात्रवृत्ति परीक्षा सम्पन्न


वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि शुक्रबार छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न गरेको छ ।
महानगरको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार, यो वर्ष कक्षा ९ र ११ मा छात्रवृत्तिका लागि २ हजार ३ सय १ जना विद्यार्थीले अनलाइन फाराम भरेका थिए । तीमध्ये २ सय ६८ जना विद्यार्थी परीक्षामा अनुपस्थित रहे । बिहान साढे ७ बजे सुरु भएको डेढ घण्टाको परीक्षा चारवटा केन्द्रमा शान्तिपूर्ण रूपमा सञ्चालन भएको थियो ।
महानगरले प्रत्येक वर्ष यो परीक्षा लिँदै आएको छ। यसअन्तर्गत, परीक्षामा सफल हुने विद्यार्थीले कक्षा १० र १२ सम्म निरन्तर छात्रवृत्ति सुविधा पाउनेछन् । यस वर्ष वीरगन्जका ८० वटा कक्षा ९ र ३८ वटा कक्षा ११ का संस्थागत विद्यालयमा छात्रवृत्तिको व्यवस्था गरिएको छ । विद्यालयको कुल विद्यार्थी संख्याको १० प्रतिशत कोटामा विद्यार्थीहरूलाई उनीहरूको नतिजा र क्लस्टरअनुसार सिफारिस गरिनेछ ।
सामुदायिक विद्यालयबाट आएका र वीरगन्जका स्थायी बासिन्दालाई प्राथमिकता दिइएको छ । यसका साथै, महिला, दलित, आदिवासी–जनजाति, अपाङ्गता भएका व्यक्ति, शहीद तथा बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका बालबालिकाका लागि पनि आरक्षण कोटा छुट्याइएको छ ।
केही दिनभित्रै परीक्षाको नतिजा सार्वजनिक गरी सफल विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयमा भर्नाका लागि पठाइने महानगरले जनाएको छ । यसले आर्थिक तथा सामाजिक रूपमा कमजोर विद्यार्थीलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
Facebook Comments