जलवायु न्यायका लागि नेपाल थप सक्रिय हुनुपर्छ : परराष्ट्रमन्त्री राणा


काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरण संरक्षणमा जोड दिएकी छन् । उनले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै जलवायु न्यायका लागि थप सक्रिय हुनुपर्ने बताएकी छन् ।
युलेन्स एजुकेशन फाउन्डेशन र बनेपा नगरपालिकाको सहकार्यमा बनेपा नगरपालिका–३, काँसी भञ्ज्याङमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री देउवाले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्व समुदायलाई जानकारी गराएको बताइन् ।
उनले भनिन्, “हाम्रा कारणले हामी पीडित होइनौँ भन्ने तथ्य विश्वले बुझिसकेको छ। त्यसैले हामी थप सक्रिय भएर जलवायु न्यायका लागि लाग्नुपर्छ।” मन्त्री देउवाले नेपालले हालै सम्पन्न सगरमाथा संवादमा नेपालको अवस्थाबारे स्पष्ट जानकारीसहित २५ बुँदे कार्ययोजना सार्वजनिक गरेको पनि बताइन् ।
साथै, उनले अन्तर्राष्ट्रिय अदालतमा पहिलोपटक उपस्थित भएर नेपालले जलवायु न्याय पाउनुपर्ने विषयलाई जोडदार रूपमा उठाएको स्मरण गरिन् । अब ‘कार्बन ट्रेड’ र ‘लस एन्ड ड्यामेज फन्ड’ सहितका विषयमा नेपालको पहुँच र कार्यक्रमका लागि पहल गर्ने उनले जानकारी दिइन् ।
Facebook Comments