पूर्व शिक्षक सुवेदीद्वारा विपन्न छात्रालाई १० लाख बराबरको सहयोग


रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं–१ का पूर्व शिक्षक तथा समाजसेवी श्याम सुवेदी र उनको परिवारले जिल्लाका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्राहरूलाई नगद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । ‘जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रम’ अन्तर्गत, सुवेदी परिवारले आफ्नो व्यक्तिगत लगानीमा १० लाख रुपैयाँ बराबरको नगद र सामग्री वितरण गरेको हो ।
जिल्लाका ६ वटा शैक्षिक संस्थाका ८३ जना छात्रालाई यो सहयोग प्रदान गरिएको छ । जसमध्ये, मन्थली मावि मन्थलीबाट ३५ जना, भैरवी मावि सुनारपानी, सेतीदेवी मावि सालु र सिद्धेश्वर मावि गैराथोकबाट १०–१० जना, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसबाट ६ जना र तामाकोशी क्याम्पस खिम्तीबाट १२ जनालाई सहयोग गरिएको छ ।
सहयोगमा नगद छात्रवृत्ति, झोला, ट्र्याकसुट र एक वर्षलाई पुग्ने कापी, कलम जस्ता शैक्षिक सामग्रीहरू समावेश छन् ।कार्यक्रममा बोल्दै समाजसेवी सुवेदीले समाजमा छोरीलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यताका साथ विगत १० वर्षदेखि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
छात्रा छनोटमा पारदर्शिता कायम गर्न सम्बन्धित विद्यालयहरूले नै विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको नाम सिफारिस गर्ने गरेको सुवेदी बताउँछन् । कार्यक्रम सुवेदीको अध्यक्षतामा र मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका पूर्व प्रमुख गुञ्जबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
Facebook Comments