काभ्रेको जन्तीढुङ्गा पर्यटकीय गन्तव्य बन्दै


धुलिखेल । काभ्रेको बनेपा नगरपालिका–१२, बाँसडोलमा रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समयमा एक आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।
सहरको कोलाहलबाट टाढा, हरियाली र शान्त वातावरणका कारण यहाँ घुम्न आउने आन्तरिक पर्यटक र टिकटक बनाउनेहरूको घुइँचो लाग्ने गरेको छ ।
काठमाडौंका विद्यार्थी विकास यादवले टिकटकमा भिडियो देखेर जन्तीढुङ्गा घुम्न आएको बताए । उनले यहाँको वास्तविक दृश्य भिडियोमा देखेभन्दा अझै रमाइलो र आकर्षक लागेको अनुभव सुनाए ।
स्थानीयबासिन्दा शम्भु कुँवरका अनुसार, जन्तीढुङ्गाको भौगोलिक आकर्षण मात्र छैन, यसको धार्मिक महत्त्व पनि छ । एक पौराणिक कथाअनुसार, भगवान बेथानचोक नारायणले विवाहको बाचा पूरा गर्न नसक्दा बेहुलासहित सबै जन्तीहरू ढुङ्गामा परिणत भएको विश्वास गरिन्छ, त्यसैले यस ठाउँको नाम जन्तीढुङ्गा रहन गएको हो।
पर्यटकको संख्या बढ्न थालेपछि स्थानीय बासिन्दाले पसल सञ्चालन गरी आम्दानी गर्न थालेका छन् । पसल सञ्चालक देवीमाया खत्रीले दैनिक १,५०० देखि ५,००० रुपैयाँसम्मको व्यापार हुने गरेको बताइन् ।
जन्तीढुङ्गा पुग्नका लागि बनेपाबाट करिब ९ किलोमिटरको दूरी पार गर्न सकिन्छ, जहाँ बाटोमा बुढागणेश मन्दिरसमेत पर्छ ।
Facebook Comments