राजनीतिबाट सन्न्यास लिँदै जर्मनी उडे वडाध्यक्ष लामा !


पोखरा । गोरखाको चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामाले राजनीतिबाट सन्यास लिँदै विदेश (जर्मनी) गएका छन् ।
नेकपा माओवादीबाट निर्वाचित लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीति छोडेको घोषणा गर्दै विदेशिएको जानकारी दिएका हुन् ।
उनले आफ्नो कामबाट कहिल्यै आत्मसन्तुष्टि नमिलेको र जति गरे पनि जस नपाएको गुनासो गरेका छन् । लामाले लेखेका छन्, ‘जिन्दगीलाई पुनः एक पटक शून्यबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो।’
यद्यपि, धेरैले एक निर्वाचित जनप्रतिनिधिले यसरी देशको राजनीतिक प्रणालीप्रति असन्तुष्टि जनाउँदै पद त्याग गरेर बिदेसिएकोमा आलोचना गरेका छन् ।
लामाले आफू नहुँदा पनि वडाको सेवा प्रवाहमा कुनै असर नपर्ने दाबी गर्दै वडा सदस्य ठीले ग्याम्चे लामालाई कार्यवाहकको जिम्मेवारी दिएर गाउँपालिकामा औपचारिक पत्र पठाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले वडाध्यक्ष लामाले पठाएको पत्रमा उनी नफर्किँदासम्म कार्यवाहकको जिम्मेवारी दिएको उल्लेख रहेको बताए ।
Facebook Comments