उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ukhu kisan.jpg

काठमाडौं । सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि रु ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो ।  निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रतिक्विन्टल रु ३५ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

यसअघि उखु किसानहरुले प्रतिक्विन्टल रु ७० प्रोत्साहन स्वरुप पाउँदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन  मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा रु ३५ उपलब्ध गराउने निर्णय भएको थियो ।

यसैबीच काठमाडौैंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिहंदरवारस्थित मन्त्रालयमा वार्ता भएको छ । वार्तामा मन्त्रालयका तर्फवाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी भएका थिए । 

उखु किसानका तर्फवाट श्यामबाबु रायलगायत सहभागी भएका थिए । यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  मंगलबार नै उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका थिए ।  


Facebook Comments