आजदेखि अमेरिकामा भारतीय सामानमाथि ५० प्रतिशत कर लाग्ने

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ae7f073c200.png

काठमाडौं । अमेरिकामा निर्यात हुने भारतीय सामानमा आजदेखि ५० प्रतिशत कर लाग्ने भएको छ । अमेरिकाले भारतविरुद्ध थप गरेको २५ प्रतिशत भन्सार कर आज (२७ अगस्त) देखि लागु भएसँगै अबदेखि कुल ५० प्रतिशत कर लाग्ने भएको हो । अमेरिकाले मंगलबार बिहान सूचना जारी गरी भारतबाट आउने सामानमा ५० प्रतिशत कर लाग्ने बताएको थियो ।

सूचनामा भनिएको छ, ‘२०२५ अगस्ट २७ वा यसपछि प्रयोगका लागि आउने वा गोदामबाट बाहिर निकालिने कुनै पनि भारतीय सामान यो बढेको करको दायरामा पर्नेछ।’ अमेरिकाले बढाएको करका कारण धेरै उद्योगहरू प्रभावित हुनेछन् । मुख्यतयाः ट्रम्पको ट्यारिफले गहना, कपडा, अटो, समुद्री खाना क्षेत्रका उद्योगहरूको नाफा घटाउन सक्नेछ। अमेरिकासँग व्यापार सम्झौता नगरिए वा भन्सार नघटाए ४८ अर्ब २ करोड डलरको निर्यातमा प्रत्यक्ष असर पर्ने विज्ञहरू बताउँछन् ।

यो अमेरिकी शुल्कले आईटी, औषधि र इलेक्ट्रोनिक उद्योगहरूलाई भने असर गर्दैन। हाल इलेक्ट्रोनिक्सलाई धारा २३२ अन्तर्गत छुट दिइएको छ। यो घोषणा नभएसम्म एप्पल, सामसुङ जस्ता स्मार्टफोनको अमेरिका निर्यातमा कुनै असर पर्ने छैन।

फार्मामा हालको ट्यारिफ शुन्य प्रतिशत हो । तर, ट्रम्पले १८ महिनामा १५० ट्यारिफ र पछि २५० ट्यारिफ लगाउने धम्की दिएका छन्। यो लागू नभएसम्म छुट जारी रहनेछ। आईटी उद्योग सेवा क्षेत्रको एक हिस्सा हो, त्यसैले यो पनि ५० प्रतिशत ट्यारिफको दायरामा आउँदैन।

एनबीसी रिपोर्टका अनुसार भारतबाट अमेरिकामा सबैभन्दा बढी निर्यात हुने गरगहना, कपडा, मेसिनरी र रसायन हुन् । ५० प्रतिशत ट्यारिफका कारण अमेरिकामा यी वस्तुहरू महँगो हुनेछन् र त्यहाँबाट अर्डरहरू घट्नेछन्।

कम अर्डरको कारण कम्पनीहरूले आफ्नो उत्पादन घटाउनु पर्नेछ, जसले लेअफ निम्त्याउन सक्छ। यसको मतलब यी क्षेत्रहरूमा रोजगारी गुमाउने खतरा छ। तर, कुन क्षेत्रबाट कतिको रोजगारी गुम्छ भन्ने अनुमान गर्न अझै गाह्रो छ ।

भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेनविरुद्धको युद्धमा सहयोग पुर्‍याइरहेकाले ५० प्रतिशत कर लगाइएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। भारतले भने ट्रम्पको यो निर्णयलाई अनुचित र तर्कहीन भनेको छ। 
 


Facebook Comments