तनाव व्यवस्थापनका लागि प्रहरीलाई ध्यान, योगा र 'साउन्ड हिलिङ' तालिम

काठमाडौं । तनाव व्यवस्थापन र सकारात्मक सोच विकासका लागि नेपाल प्रहरीले ध्यान, योगा र ध्वनि चिकित्सा (साउन्ड हिलिङ) तालिम सञ्चालन गरेको छ । ‘न्यू भिजन नेपाल’ र ‘नेचुरल साउन्ड हिलिङ इन्टरनेशनल स्कूल’को सहयोग र काठमाडौं उपत्यका प्रहरी कार्यालयको आयोजनामा ३ चरणमा कार्यक्रम सम्पन्न भएको हो ।
पहिलो चरणमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा कार्यक्रमको आयोजना गरिएको थियो भने दोस्रो चरणमा रानीपोखरीस्थित २ नम्बर गणमा र तेस्रो कार्यक्रम फेरि भृकुटीमण्डपमा गत शनिबार आयोजना गरिएको थियो ।
कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरमा कार्यरत प्रहरी जवानदेखि कनिष्ठ अधिकृत र वरिष्ठ अधिकृत समेत गरी ३ सय जना सहभागी भएर लाभान्वित भएका छन् ।
सहभागीहरूले ध्यान, योगा र ध्वनि चिकित्सा अभ्यासमार्फत तनाव व्यवस्थापन, आत्मनियन्त्रण र सकारात्मक सोच विकासमा सहयोग पुगेको बताएका छन् । तनावपूर्ण वातावरणमा काम गर्ने प्रहरीहरूका लागि यस्तो तालिम उपयोगी भएको भन्दै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा अशोक शर्मा भट्ट रहेका थिए । त्यसैगरी अन्य प्रशिक्षकहरुमा सवनम खड्गी, कपिल बन्जारा, एलिश बगाले, ईश्वर बगाले, पुजन भट्ट, हरि भट्ट र नवराज थापा रहेका थिए ।
कार्यक्रममा सहभागी भएकाहरूलाई आज एक कार्यक्रमकाबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेक बहादुर तामाङले प्रमाणपत्र प्रदान गरेका थिए ।
Facebook Comments