अब स्थानीय तहमा ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ नरहने

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bhagwati_5aPKWAT5q8.jpg

काठमाडौं । देशभरका सबै स्थानीय तहमा अब ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ नरहने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आजबाट देशभरिका गाउँपालिका र नगरपालिकालाई निमित्त विहीन बनाइएको जानकारी गराएकी हुन् । बिहीबार साँझा सामाजिक सञ्जालमार्फत उनले देश र जनतालाई केन्द्रमा राखेर यो निर्णय गरेको भन्दै आजबाट सबै गाउँपालिका र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको बताएकी छन् । 

आफूले कार्यभार सम्हाल्दा कुल ७५३ स्थानीय तहमध्ये २ सय निमित्तको भरमा चलिरहेको स्मरण गराएकी छन् । अब अर्को चरणमा उपमहानगर तथा महानगरपालिकाहरुलाई निमित्त विहीन बनाइने योजना रहेको पनि उनले बताएकी छिन् । 

मन्त्री न्यौपानेको स्ट्याटस

आजबाट नगर र गाउँपालिकामा निमित्त अन्त्य ...
सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ । यो काममा म निरन्तर लागिरहेकी छु । यस क्रममा मैले घोषणा गरेकी थिएँ, स्थानीय तह निमित्त कार्यलय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु । देश र जनतालाई केन्द्रमा राखेर मैले यो निर्णय गर्नैपर्ने थियो । मैले कार्यभार समाल्दा देशभरीका ७५३ मध्ये २०० पालिका निमित्तका भरमा चलिरहेका थिए ।

आजबाट देशभरीका गाउँपालिका र नगरपालिकालाई निमित्त विहिन बनाइएको जानकारी गर्दछु । कर्मचारी मित्रहरुलाई आजबाट गाउँपालिका र नगरपालिकाहरुका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाउने कर्मचारी मित्रहरुलाई हार्दिक बधाई दिन्छु ।

वास्तवमा पालिकाका प्रमुख तथा जनप्रधिनिधिहरुले नै हामीलाई निमित्त होइन, पूर्ण जिम्मेवारीको प्रमुख प्रशासकीय अधिकृत दिनुपर्यो भनेर माग गर्नुपर्ने हो । कैयन प्रमुखहरुले माग गर्नुभएको पनि छ । अभियानमा  खट्नुहुने मन्त्रालयका सचीव सहित सम्पूर्ण टीम, र सचिवालयका सबि साथीहरूलाई  हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

जिम्मेवारीमा खटिनुभएका कर्मचारी मित्रहरुलाई आफ्नो जिम्मेवारी उच्च दक्षता र इमानदारीसाथ निर्वाह गर्न आग्रह गर्दछु । त्यसैगरी पालिका प्रमुख तथा जनप्रतिनिधि मित्रहरुलाई पनि जिम्मेवारी लिएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न, उहाँहरुको क्षमताको भरमग्दुर उपयोग गर्न आग्रह गर्दछु ।

अब अर्को चरणमा उपमहानगर तथा महानगरपालिकाहरुलाई निमित्त विहिन बनाइने जानकारी गराउँछु । आम जनताको हितमा राखेर यो निर्णय गरिएको छ । यस्तो काममा सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दछु ।


  


Facebook Comments