बैतडीमा आपत्कालीन अवस्थाबाहेक राति गाडी चलाउन रोक


बैतडी । बैतडीमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पहिरो र बाढीको सम्भावित जोखिमलाई मध्यनजर गरी मुख्य राजमार्ग तथा सहायक सडकमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन अनुरोध गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
गृहमन्त्रालयको आदेशअनुसार सो रोक लगाइएको हो । उनले भने, “अविरल वर्षा भइरहेकाले रातिको समयमा विपद्को जोखिम बढी हुन्छ । त्यसैले विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र रातको समयमा यात्रा नगर्न अनुरोध गरेका हौँ ।” यो नियम आज रातिदेखि लागू हुनेछ ।
Facebook Comments