कञ्चनपुरमा ५२ घर र सशस्त्र प्रहरीका २ वटा बिओपी डुबानमा


कञ्चनपुर । आइतरबारदेखिको निरन्तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनीमा ५२ घर र सशस्त्र प्रहरीका दुई वटा बिओपी डुबानमा परेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टापु र गर्जा टोलमा जोगबुढा नदीको पानी पस्दा २५ घर डुबानमा परेका छन् । डुबानमा परेका २५ घरपरिवारका ७० जनालाई नजिकैको जनज्योति माविमा सारिएको छ ।
त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लामा जोगबुढा नदीको बाँध भत्किएर बाढी बस्तीमा पस्दा १५ घर डुबानमा परेका छन् । डुबानमा परेका १५ घरपरिवारका ५५ जनालाई सरसामान र चौपायासहित नजिकैको जमुना आधारभूत विद्यालय जमुनाघाडीमा सारिएको छ । वडा नं १० शान्तिनगरका डुबानमा परेका १२ घरपरिवारका ४० जनालाई वडा–९ स्थित अम्बिका माध्यमिक विद्यालयमा सारिएको छ ।
त्यसैगरी दोधारा चाँदनी नगरपालिका–१० र ७ स्थित सशस्त्र प्रहरीको बिओपी समेत डुबानमा परेको प्रवक्ता बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं १० स्थित सुन्दरनगरमा रहेको बिओपी जोगबुढा नदीको पानी पस्दा डुबानमा परेको छ । उक्त बिओपीमा कार्यरत २३ सशस्त्र प्रहरीलाई ओमकार आधारभूत विद्यालयमा राखिएको छ । वडा नं ७ स्थित कञ्जभोजमा रहेको सशस्त्र प्रहरीको बिओपी समेत डुबानमा परेको प्रहरीले जनाएको छ । उक्त बिओपीका कार्यरत ३० जना सशस्त्र प्रहरीलाई सहरी खोप केन्द्रको भवनमा राखिएको सारिएको छ ।
“बाढीले ५२ घर डुबानमा परेका छन् उक्त घरपरिवारका १६५ जनालाई सुरक्षित स्थानमा राखिएको छ”, प्रवक्ता बोहराले भने, “महाकाली नदीमा पानीको सतह निरन्तर बढिरहेको छ ।” उनका अनुसार महाकाली नदीमा पानीको सतह बढेर दुई लाख ७१० क्युसेक पुगेको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको जलसतह सतर्कता तह पार गरेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले सुचना जारी गर्दै महाकाली नदीको डडेल्धुरास्थित पारि–गाउँ बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (६.८ मि) पार गरेको जनाएको छ । जलसतह बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन आवागमन रोक लगाएको छ ।
डुबान प्रभावित क्षेत्रमा अनुगमन तथा उद्धारमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खड्कबहादुर खत्रीको कमाण्डमा प्रहरी टोली खटिएको छ ।
Facebook Comments