ललितपुर महानगरका मेयर महर्जनले पाए ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’


पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित भएका छन् । सिजन मिडियाको १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित एसियाली मुलुकमा विभिन्न पेसामा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्वको सम्मान कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्न नेतृत्व गरेकाले महर्जनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
ललितपुरलाई बस्नयोग्य सम्पदामैत्री सहरका रूपमा विकास गर्न योगदान पुर्याएबापत एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्डबाट सम्मानित गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी गराए । उनका अनुसार महानगरप्रमुख महर्जनलाई पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवार्ड प्रदान गरेका हुन् ।
ललितपुर महानगरको प्रमुख पदमा दुई कार्यकाल निर्वाचित भएका महर्जनले नेपालका ७५३ वटै स्थानीय तहका प्रमुखमध्ये समर्पित, प्रतिबद्ध, इमानदार नेतृत्वका रूपमा स्थापित भई आधुनिकीकरणसँगै सांस्कृतिक परम्परालाई र सम्पदालाई सुरक्षित राख्न जोड दिँदै आएका छन् ।
सन् १९५७ डिसेम्बर १ मा ललितपुरको पुल्चोकमा जन्मिएका महर्जन बाल्यकालमा पिताको निधनले विभिन्न समस्या भोग्दै सामुदायिक सहयोगमा आफ्नो शिक्षा पूरा गरे । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर उपाधि हासिल गरेसँगै सामाजिक सेवामा सक्रिय भएका उनी तत्कालीन ललितपुर नगरपञ्चायतको वडाध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।
तीनपटक वडाध्यक्ष र दुई कार्यकाल नगरप्रमुखको भूमिका निर्वाह गर्ने अवसर पाएका महर्जनले नेपाली कांग्रेस पार्टीमा आवद्ध रहेर जवाफदेही र जिम्मेवार नागरिक केन्द्रित शासनका पक्षमा काम गर्दै आएका छन् ।
महानगरप्रमुख महर्जनले मुलुकको पहिलो साइकल लेन, स्मार्ट सडक बत्ती, आधुनिक फोहर व्यवस्थापन प्रणाली, बीउ वितरण मेसिन, खानेपानी वितरण मेसिनलगायत सार्वजनिक सेवामैत्री सेवा सुरु गरेर दिगोपन र समावेशितालाई व्यवहारमा उतार्ने काम गरे ।
सबै वडामा निःशुल्क पूर्वप्राथमिक शिक्षा, हरित क्षेत्र र पार्क विस्तार, वृक्षरोपण, शुद्ध पानीको सहज पहुँच, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहकार्यका माध्यमबाट सांस्कृतिक आदानप्रदान, दिगो विकास र सम्पदा संरक्षणमा साझेदारी बढाउन जोड दिँदै आएका छन् ।
Facebook Comments