निजी विद्यालयका संघसंस्थाहरुले पनि घोषणा गरे आन्दोलनका कार्यक्रम, के छन् माग ?

काठमाडौं। निजी विद्यालय सञ्चालकका विभिन्न सङ्घ–संस्थाहरूको संयुक्त आन्दोलन समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ । प्याब्सन, नेशनल प्याब्सन, हिसान, एपेन र एनएमए लगायतका संस्थाहरू आबद्ध रहेको समितिले मंगलबार विज्ञप्ति जारी गर्दै भदौ १९ गते बिहीबारदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रमहरू अन्तर्गत भोलि बिहान ११ बजे देशभरका सबै जिल्ला सदरमुकामहरूमा आन्दोलनरत संस्थाहरूका सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत् खबरदारी सभा आयोजना गरिएको छ ।
काठमाडौँ उपत्यकामा भोलि नै तिलगंगास्थित होटल वेस्टर्न प्लसमा दिउँसो २ बजे निर्णायक आन्दोलन तयारी सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने समेत समितिले जनाएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार समितिले भोलि नै सञ्चारमाध्यमसँग बृहत् अन्तरक्रिया गर्ने, २० गते तयारी बैठकहरू तथा प्रमुख राजनीतिक दलहरूसँग भेटघाट गर्ने, २२ गते निजी क्षेत्रका सम्पूर्ण सरोकारवालाहरूसँग बृहत् अन्तरक्रिया गर्ने, भदौ २३ गते देशभरिका सबै निजी विद्यालयका सञ्चालकहरूलाई काठमाडौँमा केन्द्रित गर्ने र २४ गते सबै सङ्घीय सांसदहरूलाई सम्बन्धित क्षेत्रका निजी विद्यालय सञ्चालकहरूले संयुक्त रूपमा भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
सबै निजी विद्यालय सञ्चालकहरू, प्रिन्सिपलहरू तथा शिक्षक–कर्मचारीहरूको अनिवार्य सहभागितामा भदौ २५ गते काठमाडौँमा बृहत् आन्दोलन कार्यक्रम सञ्चालन गर्ने समेत समितिले जनाएको छ ।
सङ्घीय संसद्को शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकका प्रावधानहरू निजी शिक्षा प्रतिकूल रहेको आन्दोलन समितिको भनाइ छ ।
समितिले कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ’गैर–नाफामूलक’ बनाउने प्रावधान पूर्णरुपमा हटाउनुपर्ने, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्दावली हटाउनुपर्ने र विद्यालयहरूमा उत्पादन हुने पोसाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, खाजा लगायतका सेवा र सुविधामाथि गरिएको अनावश्यक प्रतिबन्ध हटाउनुपर्ने माग गरेको छ ।
Facebook Comments