सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थामा जानुपर्छः प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक समाजवाद स्थापनाका लागि विचार मिल्ने इमान्दार शक्तिबीच एकता आवश्यक भएको बताएका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले समाजवादी आन्दोलनलाई अगाडि बढाउने अबको संकल्प हुनुपर्ने बताए ।
अध्यक्ष दाहालले जनयुद्धमा महिलाको उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै भने, “जनयुद्धमा हजारौँ महिलाको सहभागिता नभएको भए संघीय लोकतान्त्रिक संविधान, गणतन्त्र र राज्यका निकायमा महिलाको ३३ प्रतिशत उपस्थिति सम्भव थिएन ।”
अध्यक्ष दाहालले जनताको संघर्षको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका षडयन्त्र परास्त गर्न परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए । “सम्मेलनबाट समाजवादी यात्राका लागि पार्टी र संविधानविरूद्ध भइरहेको षड्यन्त्रविरुद्धको संकल्प लिनुहुनेछ”, उनले भने ।
उनले संविधानले चाहेअनुसार निर्माण गर्न नसकिए पनि सम्झौताको दस्तावेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताए । तर जुन उदेश्यले संविधान निर्माण गरिएको थियो त्यसको कार्यान्वयनभन्दा संविधानविरूद्ध गतिविधिप्रति चिन्ता व्यक्त गर्दै भने, “हामीले बनाएको संविधान कार्यान्वयनतर्फ होइन, उपलब्धि उल्टिने खतरा देखिएको छ ।”
अध्यक्ष दाहालले देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता दोहो¥याए । उनले भने, “१० वर्षअघि संविधान निर्माण गर्दा हामीले भनेका थियौँ–जननिर्वाचित कार्यकारी प्रमुख र निर्वाचन पूर्ण समानुपातिक हुनुपर्छ । अहिले त्यसको आवश्यकता झन् बढी महसुस भइरहेको छ ।”
Facebook Comments