बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’ नेता भएको नेतन्याहूको आरोप

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Benjamin-Netanyahu.jpg

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने निर्णयको निन्दा गर्दै आफ्ना बेल्जियमका समकक्षीलाई ‘कमजोर नेता’ को संज्ञा दिएका छन् ।

“इजरायलसँगको सहकार्यलाई बलिदान दिएर इस्लामिक आतङ्कवादलाई खुसी पार्न चाहने बेल्जियमका प्रधानमन्त्री ९बार्ट० डे वेभर एक ‘कमजोर नेता’ सावित हुनुभएको छ । उहाँले बेल्जियमलाई खानुअघि गोहीलाई खुवाउन चाहनुहुन्छ,” नेतन्याहूको कार्यालयले आफ्नो आधिकारिक एक्स अकाउन्टमा लेखेको छ।

अस्ट्रेलिया, क्यानडा र फ्रान्सले पनि प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने निर्णयको घोषणा गरेपछि बेल्जियमले यसै महिना संयुक्त राष्ट्रसङ्घको महासभामा प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेको छ ।

बेल्जियमका विदेशमन्त्री म्याक्सिम प्रिभोटले ‘एक्स’ मा एक पोस्ट गर्दै गाजामा भइरहेको मानवीय त्रासदीलाई ध्यानमा राख्दै यो निर्णय गरिएको बताउनुभएको छ । 

इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोटरिचले प्यालेस्टिनी राज्यलाई मान्यता दिने अन्तर्राष्ट्रिय कदमपछि कब्जा गरिएको पश्चिम किनाराको केही भागलाई गाभिनुपर्ने बताउनुभएको छ । 

गाजामा आफ्नो करिब दुई वर्ष लामो अभियान अन्त्य गर्न देश तथा विदेशमा बढ्दो दबाबका बावजुद इजरायलले हालै गाजा शहर कब्जा गर्ने आधार तयार पार्दै अभियानलाई तीव्र बनाएको छ । संयुक्त राष्ट्रसङ्घले गाजामा अनिकालको घोषणा गरेको छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणका कारण एक हजार २१९ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ६३ हजार ७४६ प्यालेस्टिनीको मृत्यु भएको छ।


Facebook Comments