सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको आपत्ति, भन्यो–निर्णय फिर्ता लिनुपर्छ


काठमाडौं । नेपाल पत्रकार महासङ्घले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । बिहीबार महासङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्क भएको बताएको हो ।
डिजिटल नेटवर्कको सुविधा बन्द गर्न नहुने भन्दै महासंघले सरकारकले निर्णय फिर्ता लिनुपर्ने समेत उल्लेख गरेको छ । ‘नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखिनै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने देखिएकोले सरकारी निर्णयप्रति महासङ्घ असहमति जनाउँदछ, ’विज्ञप्तिमा भनिएको छ, ‘डिजिटल नेटवर्कको सुविधा बन्द गर्न हुँदैन । सरकारकले निर्णय फिर्ता लिनुपर्छ ।’
कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन आउने मात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेको भन्दै महासङ्घले आश्चर्य समेत प्रकट गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।
Facebook Comments