थापाथलीको सुकुम्बासी बस्तीः घर नम्बर ८७
सुनसरीका उराव कसरी बने थापाथलीका सुकुम्बासी ?



काठमाडौं । सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ मा जन्मिएका झवर लाल (सुमन) उराव २०४१ सालमा ६५ रुपैयाँ पैसा लिएर कमाइ गर्न काठमाडौं आइपुगेका थिए । उराव उसै पनि गरिब र सिमान्तकृत समुदायका व्यक्ति हुन् । त्यतिबेला उनी १२ वर्षका थिए । गरिबीले पढाई छोड्नुपर्ने बाध्यताले उनी मजदुरी गर्न हेटौंडा हुँदै काठमाडौंको छाउनी आइपुगेका थिए ।
‘म जेहेनदार विद्यार्थी थिएँ । पढ्नु मेरो ठूलो रहर थियो । ५ जना दाजुभाइ र ३ जना दिदीबहिनी थियौं । उब्जनी हुँदैन थियो । आफ्नो जमिन पनि थिएन् । थोरै चामल पकाएर अलिअलि भागमा परेको भातमा पानी हालेर, प्याज हालेर भातको पानी पिएर पेट भर्ने गर्थौं। मैले पढाइ छोडेँ । रोएर पढाइ बिदा गरेँ । तीन कक्षा पढेर ४ कक्षा पूरा गर्न पाइँन । त्यो बीचमा पनि टोकरी बोक्ने, घाँस काट्ने काम गर्थेँ । त्यसरी जिवीका नचलेपछि बा–आमाको दुःख देख्न नसकेर काठमाडौं आएँ’, सुमनले पुराना दिन सम्झिए ।
चिनेजानेका व्यक्तिको सहयोगमा सुमनले मल्ल कम्पनीमा भारी बोक्ने काम पाए । भारी बोकेर उनले दिनको १५ रूपैयाँ कमाउँथे । चिनेका मान्छेले काम त लगाइदिए तर काम गरेवापत प्राप्त हुने पारिश्रमिक पनि उनले नै कम्पनीबाट लगे । सुमनले ढाड दुखाएर भारी बोकेवापत पाउने पारिश्रमिक लिन पाएनन् । आफूले दुःख गरेर कमाएको पैसा नपाएपछि सुमनको चित्त नराम्ररी दुख्यो । उनी खाली आकाशमुनि स्वम्भूको डाँडामा चारदिनसम्म खानपिनबिनै भुँइमा लडिरहे । ‘म भारी बोकेर दिनको १५ रुपैयाँ पैसा कमाउँथे । ३६ सय रुपैयाँ जम्मा गरेपछि बा आमालाई दिन्छु भन्ने सोचेको थिएँ । तर त्यो पैसा उहाँले मलाई दिनु भएन् । चार दिन मैले भात खाइँन । स्वयम्बुको डाँडामै ४ दिनसम्म बसेँ । त्यसपछि गाउँ फर्किएको थिएँ ।’
काम गरेको पैसा नपाएका सुमन भोकले तड्पिएर काठमाडौंमा बस्न नसक्ने भए । उनले गाउँ फर्किनेबाहेक अरु कुनै उपाय देखेनन् । गाउँमा छिमेकी जमिनदारहरूको काम गर्दा पेट भर्न सकिने सोचेर उनी फेरि गाउँ नै फर्किए । ४ वर्षजति गाउँ बसे पनि पेटभरी खान पाउनेगरी गाउँमा बस्न नसकिने अनुभव गरेर राजनीतिक उथलपुथलकै बीच २०४५ सालमा सुमन फेरि काठमाडौं आए ।
मजदुरी गर्न सुरु गरे । मजदुर हुँदै सुमन घर बनाउने मिस्त्री भए । मिस्त्री बनेपछि उनले दैनिक १६५ रुपैयाँसम्म कमाउँथे । उनले ०४८ सालमा विवाह पनि गरे । परिवार बनाएपछि सुमनकाे जिम्मेवारी अझ बढ्यो । उनी मजदुर, मिस्त्री हुँदै ठूलो ठेकेदार बन्ने बाटोमा थिए । अलिअलि पैसा जम्मा गरेपछि उनले घर बनाउन आफैंले ठेक्का लिन थाले । आफ्नै पैसाले घर बनाउन फर्मा लगायतका सामाग्री जोडेका थिए । ठेकेदार बन्ने, राम्रो पैसा कमाउने, छोराछोरीलाई पढाएर राम्रो ठाउँमा पुर्याउने सपना देख्दै थिए सुमन । ‘गरिब जता पनि ठगिने रहेछ । म फेरि नराम्ररी ठगिएँ’, सुमनले बिर्सनै नसकेको मनको घाउ फेरि कोट्याए, ‘ रामजी भण्डारी भन्नेले १ लाख ३५ हजारमा तीन तला घर बनाउन ठेक्का दिनुभयो । काम सुरु गरेँ । तर काम नमिलेको भन्दै पैसा दिनुभएन । जिफन्टमा मुद्दा पनि पर्यो । जिफन्टले त्यो मानिसबाट ५५ हजार पैसा खाएर मेरो तीन वटा घर बनाउन पुग्ने फर्मा जफत हुने गरेर मलाई हराए । म आफैं जिफन्टको सदस्य थिएँ । त्यो बेला मसँग १ लाख ५० हजार रुपैयाँ पैसा पनि थियो । जग्गा किन्न सक्थेँ । घर बनाउन सक्थेँ । ठूलो ठेकेदार बन्ने सपनाले मलाई डुबायो । त्यो पीडाले लामो समय मलाई थला पार्यो । त्यसपछि ५ वर्षसम्म मैले केही गर्ने आँट नै गरिन् ।’
‘म आफैं ठेक्कापट्टा गर्थें । काठमाडौंकै नेवार साथीहरुले मलाई सहयोग गर्नुभयो । मैले त्यो बेला ८ लाख ५० हजार खर्च गरेर सानो पक्की घर बनाएको थिएँ । काठमाडौंमा एउटा घर बनाउन सकेँ भनेर म ढुक्क भएको थिएँ । तर एक वर्ष बित्न नपाउँदै डा.बाबुराम भट्टराईको सरकारले बस्तीमा डोजर चलायो । त्यो दिन बस्तीमा मात्र डोजर चेलन, माओवादीमाथिको हाम्रो विश्वासमा डोजर चल्यो, हाम्रो छातीमा डोजर चल्यो, हाम्रो सपनामा डोजर चल्यो ।’
काठमाडौंमा राजनीतिक चहलपहल ब्यापक थियो । त्यसैबेला नेपालको जमिन मिच्दै आएको भारतले नवलपरासीको सुस्तामा धेरै नेपाली नागरिकहरूको जमिन कब्जा गरी घरबारविहीन बनाइदिएको थियो । ०६२ सालको राजनीतिक उथलपुथलकै बीच भारतले सुस्ताबासीको घरजमिन कब्जा गरी घरबारबिहीन बनाएपछि नेपाल सरकारसँग सीमा सुरक्षा र गाँस बासको गुहार माग्दै नवलपरासीका सुस्ताबासी साइकल र्याली लिएर काठमाण्डौ आएका थिए ।
यतिबेला सुमनको बसाईँ ललितपुरको कुपण्डोल थियो । सुस्ताबासीहरूको आन्दोलनमा सुमनजस्तै भुईँ मान्छेहरू जम्मा हुने माहोल बन्यो । आन्दोलनलाई ठूलो बनाउन, सङ्ख्या धेरै देखाउन सुमनजस्ता भुईँ मान्छेको प्रयोग गर्ने परम्परा त्यतिबेला पनि थियो । सुमनलाई पनि माइतीघरमा आन्दोलन गरे सरकारले सुस्ताबासीसँगै गास, बास र कपासको ग्यारेण्टी गरिदिन्छ भन्ने लोभमा माइतीघरको आन्दोलनले तान्यो ।
एक कान, दुई कान हुँदै सुमनको कानमा पुगेको यो लोभले अन्तत सुमनलाई सुस्ताबासीको आन्दोलनको हिस्सा बनायो । तर राजनीतिक आन्दोलन समेत चर्किएको बेला सरकार पनि उनीहरूको आन्दोलनबाट सशंकित भयो । ०६२ सालकाे अन्तिम महिनाहरूबाट काठमाडौं केन्द्रित आन्दाेलन थालेका सुस्ताबासीहरूकाे माग पूरा गर्न नसकेपछि सरकारले दमनकाे बाटो लियो । सरकारकाे दमन ०६३ बाट थप बढ्यो । प्रशासनले दमन गरेर सुस्ताबासीहरूका साइकल थापाथलीको पुल मुनि थुपारिदियो । सुस्ताबासी प्रशासनले साइकल थुपरिदिएकै ठाउँमा छाप्रो हालेर बस्न थाले । सुमन त्यतिबेलासम्म आफ्नै मजदुरीका भरमा कोठा भाडामा लिएर बसिरहेका थिए । उनकी श्रीमतीले सुमनलाई थापाथलीमा बस्न निःशुल्क जग्गा पाइने भएकाले त्यहाँ हेर्न जान अनुरोध गरिन् । त्यतिबेलाबाटै थापाथली पुलमुनी सुकुम्बासी भएर धेरै नागरिकहरूले बागमती किनारको जमिन कब्जा गरेर बस्न थालेका हुन् । यसअघि पनि काठमाडौं, नुवाकाेटका नागरिकहरू १३ वटा झुप्रा राखेर थापाथलीकाे बागमती किनारमा बसिरहेका थिए । धेरै पटक काठमाडौ महानगरले डोजर लगाएर यी घर भत्काउने प्रयास गरे पनि सकेकाे थिएन ।
‘साइकल र्याली लिएर आएका सुस्ताबासीका साइकल प्रशासनले जफत गरी बागमती पुल मुनि थापाथलीमा ल्याएर थुपारियो । ती मानिसहरु यहीँ बस्ने खाने गर्न थालेका थिए । म बसेको ठाउँतिर थापाथलीमा निःशुल्क बस्न पाइन्छ भन्ने हल्ला चल्यो । मेरो श्रीमतीले जाउँ भनिन् । मलाई सुरुमा बिकृति होला, छोराछोरी बिग्रेलान भन्ने डर थियो । श्रीमतीले अलि जिद्दी गरेपछि हेर्न आएँ । सेन्टर ठाउँ, भाडा पनि तिर्न नपर्ने, झुप्रो बनाएर बस्न सकिने । त्यसपछि मैले पनि बस्नका लागि किनार छेउमै ठाउँ बनाएँ । तीन चार महिना म एक्लै बेलुका–बेलुका त्यही बस्न आउन थाले । डेरामा खाना खान जान्थेँ । श्रीमती र छोराछोरी छोडेर बस्न चाहिँ थापाथलीको बागमती किनारमा आउथेँ ।’
२०६३ सालदेखि थापाथलीको बागमती किनारमा सुस्ताबासीले सुरू गरेको बसोबासमा २०५२ देखि २०६४ भित्र माओवादी द्वन्द्वका कारण गाउँबाट विस्थापित भएका नागरिकहरू पनि आएर बस्न थाले । थापाथली मुनिको बागमती नदीको किनार राजनीतिक नेताहरूले आन्दोलनका लागि चाहिने निम्न वर्गका मानिस सुरक्षित राख्ने ठाउँ पनि बन्यो ।
‘सुरुमा ७ पटकसम्म महानगरले बस्ती जलाएको पनि थियो । एकै पटक कोठा छोडेर बस्न आँट आएन । त्यसैले ४ महिनासम्म म एक्लै आउँथे, बस्थेँ । त्यसो गरेको ४ महिनापछि परिवार नै आएर बस्न थाल्यौं’, सुमनले बागमती किनारमा आएर बस्न थालेका पुराना दिन सम्झिए । उनी ०६३ मंसिरदेखि थापाथलीकाे बागमती किनारमा बस्न थालेका हुन् ।
माओवादी शान्ति प्रकृयामा आएपछि सुमनलगायत बागमती नदी किनारमा बस्नेहरू आफू बसेकै ठाउँमा माओवादीले जग्गा उपलब्ध गराइदिने आश्वासनमा विश्वस्त भए । त्यसअघिका माओवादीका सबै कार्यक्रममा भुईँ कार्यकर्ता भएर नेताले भनेको इसारामा काठमाडौंमा आन्दोलन गरेका सुमनजस्ता मजदुरलाई माओवादीले जोत्ने र पोत्नेकै जग्गा हुने आश्वासन पनि सुनाएको थियो । सुमनले पनि सरकारले बागमती किनारमा बसेकाहरूलाई त्यहीँ जग्गा दिने लोभमा कमाएको निक्कै पैसा लगाएर पक्की घर बनाए । तर पक्की घर बनाएको एक वर्ष नबित्दै २०६९ साल वैशाख ६ गते माओवादीको सरकारबाटै बस्तीमा डोजर चल्यो । त्यो कालो दिन सम्झँदै सुमन सुनाउँछन्, ‘म आफैं ठेक्कापट्टा गर्थें । काठमाडौंकै नेवार साथीहरुले मलाई सहयोग गर्नुभयो । मैले त्यो बेला ८ लाख ५० हजार खर्च गरेर सानो पक्की घर बनाएको थिएँ । काठमाडौंमा एउटा घर बनाउन सकेँ भनेर म ढुक्क भएको थिएँ । तर एक वर्ष बित्न नपाउँदै डा.बाबुराम भट्टराईको सरकारले बस्तीमा डोजर चलायो । त्यो दिन बस्तीमा मात्र डोजर चेलन, माओवादीमाथिको हाम्रो विश्वासमा डोजर चल्यो, हाम्रो छातीमा डोजर चल्यो, हाम्रो सपनामा डोजर चल्यो ।’
भक्कानिएको मनलाई सम्हाल्दै सुमन थप्छन्, ‘मलाईँ बा–आमा बित्दा पनि त्यति दु:ख लागेको थिएन् जति बस्तीमा डोजर चल्दा लाग्यो । खुब रोएँ । किराना पसल सुरु गरेको थिएँ । भर्खर चल्ला पारेको कुखुराको गुँड समेत निकाल्न पाइन् ।’
‘हामी २६५ घरका परिवार सबै घर भत्किएकै ठाउँमा बसेका थियौं । गरिबलाई प्रकृतिले पनि हेप्दो रहेछ । त्यही राति पानी पर्यो । बच्चा, बुढाबुढी, अपांगता भएका व्यक्ति समेत खुला आकाशमा सुतेका हामीले ओत लाग्ने ठाउँ समेत पाएनौं ।’ आँखाभरी आँसुपार्दै त्यो सुमनले कहालिलाग्दो रात सम्झिए ।
डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौंका सडकका साथै सुकुम्बासी बस्तीका घर समेत डोजर लगाएर जबरजस्ती भत्काइएको थियो । सुरूमा थापाथलीको बागमती किनारमा आएर बसोबास गरेका सुस्ताबासीहरू सरकारले डोजर लगाएर घर भत्काइदिएपछि आफ्नै थातथलो फर्किए । तर राजनीतिक नेताले निम्न वर्गका नागरिकलाई काठमाडौंका जुलुसमा उतार्न त्यहीँ राखेका धेरै कार्यकर्ताहरू अझै गाउँ फर्किन सकेनन् । धेरैको गाउँमा जमिन समेत बेचबिखन भइसकेको थियो ।
२०६९ वैशाख ६ गतेको त्यो घटनापछि सुमनलगायत सयौं परिवार घरबार बिहीन भए । त्यसैबेला सुमनका नेवार साथीहरुले उनलाई जग्गा दिने र घर बनाउन सघाउने प्रस्ताव गरे । स–साना छोराछोरीसहित खुला आकाशमुनी दिन र रात बिताएको कयौं दिन भइसकेको थियो । सुरुमा त सुमन साथीहरुको कुरामा सहमत भएका थिए । तर सयौंको संख्यामा अलपत्र परेका मानिसलाई छोडेर आफ्नो मात्र परिवार लिएर हिँड्न सुमनको मनले मानेन् । ‘म बस्तीमा अगुवा जस्तै थिएँ । बोल्न सक्थें । कुरा राख्न सक्थें । मलाई आफ्नो मात्र अवस्था राम्रो बनाउन मन लागेन् । म गएँ भने यिनीहरुको लागि कस्ले बोल्दिन्छ ? भन्ने लाग्यो । म सबैका लागि लड्छु भनेर साथीहरुको प्रस्ताव अस्वीकार गरें । र फेरि यहिँ झुप्रो बनाएर बसें ।’
उनी त्यतिबेला पनि माओवादीका कार्यकर्ता थिए । अहिले पनि सुकुम्बासीहरूको संस्थासँग सम्बन्धित माओवादीको जनबर्गीय संगठनका कार्यकर्ता छन् ।
अहिले सुमन संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको केन्द्रिय सचिव छन् । यो संस्था ०६८ सालमा गठन भएको थियो । यस्ता संगठनलाई हातमा लिन कांग्रेसदेखि एमाले र माओवादीले सुमनजस्ता व्यक्तिलाई बेला बेला काठमाडौंमा जमिन नै उपलब्ध गराइदिने लाखौं आश्वासन दिए । सबैका सरकार बने । तर सुमनको अहिले पनि अवस्था उस्तै छ । अहिले पनि कहिले एमाले त कहिले कांग्रेस, कहिले माओवादीका नेता कार्यकर्ताहरूले सुमनजस्ता धेरैलाई थापाथलीको नदी किनारमै जग्गा उपलब्ध हुने आश्वासन दिन छाडेका छैनन् । उता काठमाडौं महानगरका मेयर बालेन शाहले बेलाबेला नगरप्रहरीसँग डोजर पठाएर बसिरहेको छाप्रो भत्काइदिने पटक पटक प्रयास पनि गरिरहेका छन् ।
थापाथलीको सुकुम्बासी बस्तीको घर नम्बर ८७ सुमनको हो । उनले दु:ख गरेर छोराछोरी राम्रैसँग पढाए । आफ्नो नाममा जमिन जोड्न नसके पनि साथीभाइको सहयोगमा बस्ती छोड्न सक्ने उनको हैसियत छ । तर उनी निमुखाको आवाज बन्न चाहन्छन् । र, भूमिहिनको अधिकारका लागि कटिबद्ध छन् । राज्यसँग निरन्तर लडिरहेका छन् ।
Facebook Comments