वैदेशिक रोजगारीका कारण म्याग्दीका क्याम्पसमा विद्यार्थी घट्दै


म्याग्दी । जिल्ला सदरमुकाम बेनीस्थित एकमात्र म्याग्दी बहुमुखी क्याम्पससहित अन्य क्याम्पसहरूमा पछिल्लो तीन वर्षयता विद्यार्थीको सङ्ख्या निरन्तर घटिरहेको छ । बढ्दो बसाइँसराइ र रोजगारीका लागि विदेशिने युवाहरूको लहरले यो समस्या देखिएको हो ।
म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीका अनुसार, स्नातक तहमा भर्ना हुने विद्यार्थीको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा ८८५ रहेकोमा २०८१/८२ मा घटेर ५५८ मा झरेको छ । यसैगरी, स्नाकोत्तर तहमा पनि विद्यार्थीको सङ्ख्या घटेको छ ।
पूर्वप्रमुख प्राध्यापक गोरखबहादुर जिसीका अनुसार, वैदेशिक रोजगारी नै विद्यार्थी घट्नुको प्रमुख कारण हो । एकै वर्षमा व्यवस्थापन संकायका ३५ जना विद्यार्थीले जापान जान सिफारिसपत्र बनाएको उनले बताए ।
पछिल्लो दुई दशकयताको न्यून जन्मदर र बढ्दो बसाइँसराइले पनि विद्यार्थीको सङ्ख्यामा कमी आएको हो । विद्यार्थीहरू दश जोड दुईपछि रोजगारीको अवसर खोज्दै ठूला सहरका क्याम्पसमा जाने गरेका छन् ।
विद्यार्थीको सङ्ख्या घट्दा क्याम्पस सञ्चालनका लागि स्रोत जुटाउन समस्या भइरहेको छ । यद्यपि, विद्यार्थी कम भए पनि क्याम्पसको उत्तीर्णदर भने बढेको प्रमुख सुवेदीले बताए ।
म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले छात्रावास, छात्रवृत्ति र लोकसेवा तयारी कक्षाजस्ता कार्यक्रम सञ्चालन गरेर विद्यार्थीलाई जिल्लामै टिकाउने प्रयास भइरहेको जानकारी दिए ।
उनले उच्च शिक्षासँगै रोजगारीको अवसर सिर्जना गर्न राज्यले पहल नगरेसम्म सामुदायिक क्याम्पसहरूमा विद्यार्थीको अभाव कायम रहने बताए ।
Facebook Comments