कोशी प्रदेशमा ४८७ सहकारी निष्क्रिय, झापामा सबैभन्दा धेरै


झापा । कोशी प्रदेशमा रहेका ४८७ सहकारी संस्था निष्क्रिय सूचीमा परेका छन् । निष्क्रिय सूचीमा परेकामध्ये सबैभन्दा धेरै झापामा १३१ वटा सहकारी रहेका छन् । त्यसपछि मोरङमा ६७ र सुनसरीमा ६२ वटा निष्क्रिय छन् ।
कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले हालै जारी गरेको सूचनाअनुसार, यी संस्थाहरूले लगातार दुई वर्षसम्म प्रदेश सहकारी ऐन, २०७६ अनुसार बुझाउनुपर्ने विवरण नबुझाएपछि निष्क्रिय घोषणा गरिएको हो ।
रजिष्ट्रार भूपेन्द्र खनालले सहकारी क्षेत्रको शुद्धीकरणका लागि यो अभियान सुरु गरिएको बताए । निष्क्रिय सूचीमा परेका संस्थाहरूको सम्पत्ति र दायित्वको अवस्था हेरेर खारेजी प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।
प्रदेशभरि कार्यालयको नियमन क्षेत्राधिकारभित्र कुल १ हजार ७५ सहकारी संस्था रहेका छन् र सूचना प्रकाशित भएपछि कतिपय सहकारी संस्था सम्पर्कमा आएका छन् ।
Facebook Comments