लमजुङ पुगेर प्रचण्डले भने– ‘जनताको मनबाट हटेका छैनौँ’


लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ आफ्नो टोलीसहित पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत शनिबार श्री भक्ति नमूना माध्यमिक विद्यालय पुगेका छन् ।
विद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस विद्यालयसँग आफ्नो विशेष सम्बन्ध रहेको स्मरण गरे ।
उनले बर्खाका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु गरिएको जानकारी दिँदै भने, ‘यस अभियानको मुख्य उद्देश्य जनताको समस्या बुझेर सिंहदरबारसम्म पुर्याउनु हो ।’
अभियानका क्रममा जनयुद्ध र जनक्रान्तिका शहीद तथा बेपत्ता परिवारसँग निरन्तर भेटघाट भइरहेको र उनीहरूको पीडा सम्बोधन गर्न पार्टी प्रयासरत रहेको पनि उनले बताए ।
प्रचण्डले आफूहरू सरकारमा रहँदा भ्रष्टाचार अन्त्य, सुशासन र विदेशमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने जस्ता महत्त्वपूर्ण काम गरेको स्मरण गराए ।
उनले भने, “राम्रो काम गर्दै गर्दा सरकारबाट हटाइए पनि सुशासनको अपेक्षा राख्ने जनताको मनबाट हामी हटेका छैनौँ ।”
Facebook Comments