योगेश भट्टराई भन्छन्–जनतामा जाऔं, जनतालाई सुनौं र त्यस अनुसार निर्णय गरौं


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने बताएका छन् । भ्टटराईले सामाजिक सञ्जालमार्फत पछिल्लो घटनाक्रमले देश र समाज भयानक अस्थिरतामा गएको भन्दै विकसित घटनाहरूलाई राम्रोसँग विश्लेषण गरेर भएका कमजोरीको समिक्षा गर्नुपर्ने बताएका हुन् ।
उनले आफ्ना पार्टीका नेता कार्यकर्ता समक्ष १० वटा बुँदामा सुझाव समेत प्रस्तुत गरेका छन्ः
१.विकसित घटनाहरूलाई राम्रोसँग विश्लेषण गरौ हामीबाट भएका कमजोरीको समिक्षा गरौं । गल्तीप्रति आत्मालोचित होऔं ।
२.पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौं। यो काम होशियारी पूर्वक गरौं । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।
३.पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौं ।
४.पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔं ।
५.जनतामा जाऔं, जनतालाई सुनौं र त्यस अनुसार निर्णय गरौं ।
६.लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जवजको आत्मा हो, यसबाट दाँया–बाँया नजाऔं ।
७.खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम संपन्न गर्ने अठोट गरौं।
८.हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषाभाषीबिचको एकतालाई बलियो बनाऔं ।
९.देशभित्रको आन्तरिक सहमति अनि संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अंतर्राष्टिय समुदायलाई आह्वान गरौं।
१०.जेनजी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौं ।
Facebook Comments