नयाँ सरकारको प्रधानमन्त्री छनौट गर्न जेनजीमा विवाद, आज जुट्ला सहमति ?
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते २२:५६
काठमाडौं । नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक वार्ता हुने भएको छ । बुधबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधि, धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ, दुर्गा प्रसाईँसँग छलफल गरेका थिए ।
अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा अधिकांश जेनजी प्रतिनिधिहरुले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति जनाएका छन् । तर कतिपयले विरोध जनाउँदा जंगी अड्डामै जेनजीबिच विवाद भएको थियो । विवाद बढेपछि नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो ।
यसैगरी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई आफ्नो समर्थन रहेको बताएका छन् । धरान उमहानगरका मेयर सम्पाङले पनि कार्कीलाई नेतृत्व दिने कुरामा आफ्नो असहमति नरहेको बताएका छन् ।
यसैबीच आजको वार्तामा सहमति जुट्यो भने कार्की देशमा पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् । उनी स्वयम् पनि प्रधानमन्त्रीका जिम्मेवारी सम्हाल्न तत्पर रहेको बताएकी छन् ।
बलियो कानूनी पृष्ठभूमि, राजनीतिक सुझबुझ र परिपक्वताले गर्दा धेरै युवाहरुको रोजाइमा उनी परेकी छन् । सुशीला कार्की नेपालको सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायधीश पनि हुन् ।
Facebook Comments