चन्द्रागिरि हिल्सले भन्यो– ‘सपना टुटेको छैन, सेवा सुचारु गर्न दृढ छौँ’
मेयरसाप डेस्क
|
२०८२ भदौ २८ गते १२:४३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा चन्द्रागिरि केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगे पनि कम्पनीले आफ्नो सेवा पुनः सुचारु गर्न दृढ रहेको जनाएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । विज्ञप्तिमा, कम्पनीले सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना जस्ता जेनजीले उठाएका मागप्रति सम्मान रहेको बताएको छ ।
सोही आन्दोलनका क्रममा पब्लिक लिमिटेड कम्पनीको रूपमा रहेको र लाखौँ शेयरधनीको लगानी रहेको आफ्नो सम्पत्तिमा तोडफोड तथा आगजनी हुनु दुःखद भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी विचलित भएका छैनौँ । तपाईंहरूको साथ, सहयोग र सद्भावले पर्यटन विकासमार्फत देशको मुहार फेर्ने हाम्रो सपना र अठोट अझै मजबुत बनेको छ ।’ कम्पनीले छिट्टै नै सेवा पुनः सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्षति कम गर्न खटिएका सुरक्षाकर्मी, स्थानीय समुदाय र कर्मचारीलाई कम्पनीले धन्यवाद दिएको छ । साथै, यस परिस्थितिबाट पर्यटक तथा दर्शनार्थीलाई परेको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।
Facebook Comments