संसद् विघटन आम सहमतिका आधारमा भएको हो : राष्ट्रपति पौडेल
मेयरसाप डेस्क
|
२०८२ असोज ३ गते ०७:२४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘जेनजी’ आन्दोलनका दुई दिनमा देशले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेको बताएका छन् । संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान समारोहमा बोल्दै उनले घटनाप्रति दुःख व्यक्त गरे ।
पौडेलले हरेक पुस्ताको सक्रियताले लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गर्दै आफू पनि १७ वर्षको उमेरमा राजनीतिमा होमिएको स्मरण गरे । उनले भने, ‘परिस्थितिले मलाई २४ गतेपछि उत्पन्न राजनीतिक अप्ठ्यारो र राजनीतिक रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ ।’
सबैको सुझबुझ, समन्वय र सहयोगका कारण अहिलेको असहज परिस्थितिलाई सम्हालिएको उनको भनाइ छ । उनले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने विश्वास व्यक्त गरे ।
अहिलेको अन्तरिम सरकारले ६ महिनाभित्रै निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्ने पौडेलले बताए । प्रतिनिधिसभाबाट प्रधानमन्त्री बनाउने कुनै सम्भावना नभएपछि आम सहमतिमै संसद् विघटन गरेको पनि उनले स्पष्ट पारे ।
Facebook Comments