धादिङमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक गएरातिदेखि नै अवरुद्ध

User Image मेयरसाप डेस्क | २०८२ असोज ७ गते ०३:३२
Image of https://mayorsap.com/storage/photos/10/68d0ef4001cf5.jpg
तस्बिर एआई

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा सुख्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा ठूलो पहिरो खसेको कारण गएराति सवा १० बजेदेखि नै सवारी दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  

पहिरो झर्ने क्रम निरन्तर रहेकाले बाटो खुलाउन समस्या भएको छ ।  बिहान दुई बजेदेखि त्यो पहिरो पन्छाउँदै गर्दा आज बिहान पाँच बजेतिर फेरि त्यहीँ ठाउँमा अर्को ठूलो पहिरो खसेको हो । 

पहिरो पन्छाउन हाल तीनवटा मेसिन प्रयोग भएको प्रहरीले जनाएको छ । रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु बाटोमा अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न प्रहरीले भनेको छ ।

यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए । त्यो पहिरो पन्छाएर सोमबार दिउँसोदेखि तुइन खोलामा दुईतर्फी नै सवारी सञ्चालन हुन थालेका थिए । पटकपटक पहिरो खस्दा दशैंको बेला यात्रुले सास्ती पाएका छन् । 


Facebook Comments