स्वास्थ्य बीमा कार्यक्रम : काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा

User Image मेयरसाप डेस्क | २०८२ असोज ८ गते ०४:३८
Image of https://mayorsap.com/storage/photos/10/68d389a276bdd.jpg

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६, दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रले आजदेखि स्वास्थ्य बीमा कार्यक्रमको प्रथम सेवा बिन्दुको रूपमा सेवा सुरु गरेको छ । यससँगै जिल्लामा स्वास्थ्य बीमाको उपचार सेवा दिने सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ ।

केन्द्र प्रमुख कोपिला कार्कीका अनुसार, जनशक्तिको अभाव देखाउँदै सेवा सुरु गर्न आलटाल गरिरहेको पाँचखाल नगरपालिकाले आवश्यक व्यवस्थापन गरी औपचारिक रूपमा नियमित सेवा सुरु गरेको हो । यस केन्द्रलाई आधारभूत अस्पतालको रूपमा स्तरोन्नति गर्न तत्कालै आवश्यक जनशक्ति र भौतिक संरचना निर्माणको काम पनि अगाडि बढाइएको छ ।

साउनको अन्तिम साता बनेपा आधारभूत अस्पताल र मण्डनदेउपुर आधारभूत अस्पताल पनि स्वास्थ्य बीमा बोर्डमा आबद्ध भई भदौदेखि सेवा दिन थालेका थिए । त्यसअघि नै मेथिनकोट प्रादेशिक अस्पताल, सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले पनि सेवा सञ्चालन गरिसकेका थिए ।

यसैबीच, धुलिखेल नगरपालिकाले आफ्नो स्वास्थ्य केन्द्र भवनको सेवालाई साउन २६ गतेदेखि धुलिखेल अस्पताल परिसरबाटै सञ्चालनमा ल्याएको छ । यसअघि भौतिक पूर्वाधार र जनशक्तिको अभाव देखाउँदै सेवा दिन आनाकानी गरिरहेको धुलिखेलले बीमा सेवा लिनेलाई सहज होस् भन्दै विशेषज्ञसहितको ‘रिफरल’ सेवा सुरु गरेको हो ।

गत साउन १ गतेदेखि सरकारले सरकारी स्वास्थ्य संस्थाहरूलाई नै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु बनाउने नियम लागू गरेपछि जिल्लाका अन्य स्वास्थ्य संस्थाहरू पनि यस कार्यक्रममा आबद्ध भएका हुन् ।


Facebook Comments