बैंककमा सडक भासिँदा ठूलो खाडल, यातायात अवरुद्ध
मेयरसाप डेस्क
|
२०८२ असोज ८ गते २१:०८
एजेन्सी । बैंककको एक व्यस्त सडकको भाग भासिएर ठूलो खाडल बनेपछि यातायात र पूर्वाधारमा क्षति पुगेको छ । यस घटनामा कुनै मानवीय क्षति भने भएन, तर तीनवटा सवारीसाधनमा क्षति पुगेको छ ।
बैङ्ककका गभर्नर चाडचार्ट सिटिपुन्टले दुर्घटनाको कारण नजिकै भइरहेको भूमिगत रेल स्टेशनको निर्माण कार्य हुनसक्ने अनुमान गरेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सडक क्रमशः भासिँदै जाँदा बिजुलीका खम्बा ढलेको र पानीका पाइप फुटेको देख्न सकिन्छ । चार लेनको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ र खाडल प्रहरी चौकी नजिकै रोकिएको छ ।
दुर्घटनास्थल नजिकैको अस्पतालले दुई दिनका लागि बहिरङ्ग सेवा (ओपिडी) बन्द गरेको छ । यद्यपि अस्पतालको संरचनामा कुनै असर नपरेको बताइए पनि, प्रहरी चौकी र वरपरका घरहरूबाट मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
हाल सो क्षेत्रको बिजुली र पानी आपूर्ति पनि काटिएको छ। मनसुनका कारण थप क्षति हुन सक्ने सम्भावनातर्फ सचेत हुँदै मर्मत कार्य सुरु गरिएको गभर्नरले जानकारी दिए ।
Facebook Comments