मुग्लिन-नारायणगढ पहिरोको मारमा पोखरा-काठमाडौं यातायात

User Image मेयरसाप डेस्क | २०८२ असोज ८ गते ०४:३३
Image of https://mayorsap.com/storage/photos/10/68d3cd1b63544.jpg

गण्डकी । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा खसेको पहिरोको प्रत्यक्ष असर पोखरा–काठमाडौं सडकखण्डको यातायातमा पनि परेको छ । 

पहिरोका कारण मुग्लिन क्षेत्रमा सवारीसाधनको चाप बढ्दा पोखरा–काठमाडौं आवतजावत गर्ने बसहरूलाई गन्तव्यमा पुग्न ढिलाइ भइरहेको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले पहिरोले गर्दा सडकमा जाम बढेको र समयमै यात्रु पुर्याउन समस्या भएको बताए । मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

उनका अनुसार, उक्त सडक अवरुद्ध भएपछि नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधनहरू पनि पोखरा हुँदै जान थालेकाले सवारी चाप अझै बढेको छ । हाल पोखरा–काठमाडौं खण्डमा मात्रै दैनिक करिब ४०० वटा यात्रुवाहक बस सञ्चालनमा छन् ।

दसैँ नजिकिँदै गर्दा यात्रुहरूको संख्या अझ बढ्ने भएकाले सडक अवरुद्ध हुँदा आवतजावतमा थप कठिनाइ हुने देखिएको छ ।


Facebook Comments