भक्तपुरमा दसैँका लागि च्याङ्ग्रा ल्याइयो
मेयरसाप डेस्क
|
२०८२ असोज ८ गते ०४:४०
भक्तपुर । दसैँका लागि मुस्ताङबाट च्याङ्ग्रा भक्तपुर भित्र्याउन थालिएको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी चौरमा राखिएका च्याङ्ग्रा खरिद गर्न भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका उपभोक्ता पुग्न थालेका छन् ।
गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य बढेको छ । व्यापारीहरूले जिउँदो च्याङ्ग्रा प्रतिकिलो १,३०० रुपैयाँसम्ममा बेचिरहेका छन् । गत वर्ष यो मूल्य १,०५० रुपैयाँ थियो ।
च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठका अनुसार, चीनबाट मुस्ताङसम्म ल्याइएका च्याङ्ग्राहरू मुस्ताङमै प्रतिगोटा ४० देखि ४५ हजार रुपैयाँसम्ममा किन्नु परेकाले मूल्य बढेको हो । उनले च्याङ्ग्रा गोटाका आधारमा किन्नुपर्ने र यहाँ किलोमा बेच्नुपर्ने भएकाले पनि उपभोक्तालाई महँगो पर्न गएको बताए ।
अर्का व्यापारी रमेश खड्काले पनि प्रतिकिलो १,३५० रुपैयाँसम्ममा च्याङ्ग्रा बेचिरहेका छन् । खड्काले यसवर्ष ल्याउँदा विभिन्न ठाउँमा करिब ३० हजार रुपैयाँ र सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई प्रतिव्यापारी २५ हजार रुपैयाँ कर तिर्नुपरेको बताए ।
Facebook Comments