देशैंको मुखमा पहिरोले विभिन्न राजमार्ग अवरुद्धः कुन–कुन सडक खुले, कुन छन् बाँकी ?

User Image मेयरसाप डेस्क | २०८२ असोज ९ गते २१:०८
Image of https://mayorsap.com/storage/photos/10/68d4b9a1dfd61.jpeg

काठमाडौं । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ पासाङल्हामु राजमार्गस्थित नेपाल–चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ–नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका–४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । 

उनका अनुसार नवलपरासी पूर्वस्थित पूव-पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली(मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।   

यसैबीच अवरुद्ध सडक खुलाउने क्रम जारी छ । पहिरोका कारणले अवरुद्ध भएका केही सडक सञ्चालनमा आइसकेका छन् । तर अझै पनि केही सडक खुल्न सकेका छैनन् । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

पृथ्वी राजमार्गको घोप्टेभिर र जवाङ खोला पहिरो हटाई यातायात सुचारु गरेको नागढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको हो । जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो । 

त्यस्तै काठमाडौं उपत्यकालाई देशका विभिन्न स्थानसँग जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा आज पनि पहिरो पन्छाउने क्रम जारी नै रहेको सड्क विभागका प्रवक्ता प्रभात झाले जानकारी दिए । हिजो साँझ पानी परेकाले पहिरो पन्छाउने काम रोकिएपनि आज बिहानैबाट पहिरो पन्छाउने काम सुरु भइसकेको उनले जानकारी दिए । 

बुधबार राती ठुलो पानी परे पनि थप पहिरो झरेको छैन । तर  पहिरो पन्छाएर बाटो खुलाउन कम्तीमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको  छ । त्यस्तै शहीद मार्गमा भने सहज रुपमा यातायात संचालन भइरहेको छ ।


Facebook Comments