दसैँ खर्च जुटाउन महोत्तरीका महिला माटो बेच्दै
मेयरसाप डेस्क
|
२०८२ असोज ९ गते १२:१२
महोत्तरी । दसैँ, तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरीका आर्थिक अवस्था कमजोर भएका परिवारहरूले घर लिपपोतमा प्रयोग हुने विभिन्न रङका माटो बेचेर चाडपर्वको खर्च जुटाउन थालेका छन् ।
दसैँअघि घर चिटिक्क पार्न कमेरे (सेतो), चिम्टाइलो (पहेँलो) र रातो माटोको माग अत्यधिक बढ्ने गर्छ । किसानको खेतमा श्रम गरेर गुजारा गर्ने श्रमिक परिवारहरू अहिले ठूलठूला पोखरीको डिल, नदी किनार र चुरे पहाडका थुम्काहरूमा माटो खोज्न व्यस्त छन् ।
भङ्गाहाकी हेमनी सदा मुसहरले दैनिक ज्यालाले जीविकोपार्जन हुने तर चाडपर्वको अतिरिक्त खर्चका लागि माटो बेच्नुपर्ने बताइन् । अहिले बस्तीबस्तीबाट महिलाहरू समूहमा माटो खोज्न र ओसार्न निस्कने गरेका छन् ।
नवरात्र सुरु भएपछि माटोको बिक्रीबाट पाँचदेखि सात हजार रुपैयाँसम्म कमाइ हुने गरेको स्थानीय पुर्नी महराले जानकारी दिइन् । यसले उनीहरूलाई दसैँ मेला र घरखर्चको व्यवस्थापन गर्न सहयोग पुगेको छ ।
विशेषगरी ग्रामीण भेगका बाँसका कच्ची घरहरू बर्सेनि माटोले पोत्ने मधेसी तथा थारु समुदायको परम्पराले गरिब महिलाहरूलाई चाडपर्वमा अतिरिक्त आम्दानीको अवसर मिलेको छ । यो अवसर दसैँपछि दीपावली र छठसम्म पनि रहने गरेको स्थानीय बताउँछन् ।
Facebook Comments