फिलिपिन्समा भीषण आँधी : ३ जनाको मृ*त्यु, ४ लाख विस्थापित

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते २०:०४
Image of https://mayorsap.com/storage/photos/10/68d67b26b93e3.jpg

एजेन्सी । फिलिपिन्समा आएको गम्भीर उष्णकटिबन्धीय आँधी बुआलोईले गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । देशले यसअघि आएको सुपर टाइफुन रागासाको प्रभावबाट अझै त्राण पाउन सकेको छैन ।

दक्षिणी लुजोनको बिकोल क्षेत्रमा ११० किलोमिटर प्रतिघण्टाको गतिमा फैलिएको आँधीका कारण पर्खाल ढलेका, रूख उखेलिएका र छत उडाएका घटनामा तीन जनाको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन् । 

मासबेट प्रान्तमा आश्रय लिइरहेका मानिसहरूले ठूलो क्षति बेहोरेका छन् । एक इन्जिनियरका अनुसार, आँधीको हावा ’जीवनमा अनुभव गरिएको सबैभन्दा बलियो’ थियो, जसका कारण धेरै घर ध्वस्त भएका छन् ।

नागरिक सुरक्षा अधिकारी बर्नार्डो अलेजान्ड्रोले करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याइसकिएको जानकारी दिएका छन् । उद्धारकर्मीहरूले अहिले सडक अवरुद्ध पार्ने ठूला रूख र बिजुलीका खम्बा हटाउने काम गरिरहेका छन् ।

वर्षमा औसत २० वटा आँधीबेहरीको चपेटामा पर्ने फिलिपिन्समा जलवायु परिवर्तनका कारण आँधीहरू अझ प्रबल बन्दै गएको वैज्ञानिकहरूले बताएका छन् । यसअघि आएको सुपर टाइफुन रागासाले पनि कम्तीमा नौ जनाको ज्यान लिएको थियो ।

यस विपद्को समयमा बाढी नियन्त्रण परियोजनाहरूसम्बन्धी घोटाला बाहिर आएपछि जनतामा राजनीतिक आक्रोश पनि बढेको छ । सरकार अहिले उद्धार, राहत र पुनर्निर्माणमा जुटेको भए पनि नागरिकहरूको असन्तोष र जलवायु सङ्कटको चुनौती गहिरिँदै गएको छ ।


Facebook Comments