चन्दा सहयोग जुटाएर ऐतिहासिक मन्दिर पुनर्निर्माण
मेयरसाप डेस्क
|
२०८२ असोज ११ गते २०:०१
म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिर रु एक करोडभन्दा बढी चन्दा सहयोग जुटाएर पुनर्निर्माण सम्पन्न भएको छ ।
वि.सं. १९९० र २०७२ को भूकम्पले जीर्ण बनेको सो मन्दिर वि.सं. २०७५ बाट समुदायस्तरबाट आर्थिक सहयोग जुटाएर पुनर्निर्माण थालिएको थियो ।
मन्दिर पुनर्निर्माणमा कूल रु १ करोड १९ लाख ३१ हजार ८३३ खर्च भएकोमा रु १ करोड १४ लाख ५ हजार १३८ चन्दा सङ्कलन भएको समितिका अध्यक्ष तेजेन्द्र थापाले जानकारी दिए ।
वि.सं. १२४६ देखि १५४५ सम्म तत्कालीन थापा राजा र नेपाल एकीकरणअघि मल्ल राजाहरूले शासन गरेको ताकमकोत मा यो मन्दिर सोह्रौँ शताब्दीमा निर्माण भएको थियो । पूर्वऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर) ले शुक्रबार मन्दिरको उद्घाटन गरेका हुन् ।
मन्दिरको छेउमा कोतघरको पनि पुनर्निर्माण भएको छ । पुरातत्व विभागको रु ५० लाख बजेटबाट रामसिता मन्दिर र दाताको सहयोगमा १२ फिट अग्लो हनुमानको मूर्ति पनि स्थापना गरिएको छ । प्रदेश र सङ्घीय सरकारको बजेटबाट पक्की पदमार्ग, सत्तल र सार्वजनिक शौचालय समेत निर्माण भएको छ ।
समुद्री सतहबाट २,५०० मिटर को उचाइमा रहेको ताकमकोतबाट धवलागिरि, नीलगिरि, अन्नपूर्ण लगायत हिमशृङ्खलाका साथै सूर्योदयको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पुनर्निर्माणसँगै ताकमकोत पर्यटकीयस्थलको रूपमा विकास भएको बताउँदै यसको विकास र प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
Facebook Comments