तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड हुँदा ३६ जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ असोज १२ गते २१:३५
Image of https://mayorsap.com/storage/photos/10/68d8d531c0256.jpg

एजेन्सी । भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्यालीमा भएको भागदौडमा परी कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् । मृतकहरूमध्ये आठ जना बालबालिका रहेको राज्यका स्वास्थ्यमन्त्री एम. सुब्रमण्यमले जानकारी दिए ।

करुर जिल्लामा आयोजित विजयको र्यालीमा हजारौँ समर्थक सहभागी थिए । भीड निकै बाक्लो हुँदा विजयको बस नजिक पुग्न खोज्ने क्रममा केही समर्थक लडेपछि भागदौड सुरु भएको थियो । अत्यधिक गर्मी र विजय घण्टौँ ढिलो आइपुग्दा स्थिति झन् तनावग्रस्त बनेको थियो ।

स्वास्थ्यमन्त्री सुब्रमण्यमले र्यालीमा अनुशासनको कमी रहेको भन्दै घटनाको अनुसन्धानको आदेश दिइएको बताए । र्यालीकै बीच कम्तीमा ३० जना समर्थक बेहोस भएर अस्पताल लगिएपछि विजयले आफ्नो भाषण रोकेका थिए ।

दुर्घटनापछि अभिनेता विजयले सामाजिक सञ्जालमा हृदय टुक्रिएको भन्दै पीडा व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनालाई ’गहिरो दुःखदायी’ भन्दै शोक प्रकट गरेका छन् ।

सन् २०२४ मा आफ्नै राजनीतिक पार्टी गठन गरेका विजयको र्यालीमा भएको यो दुर्घटनाले फेरि एक पटक भारतमा ठूला भीडको व्यवस्थापन र सार्वजनिक सुरक्षा माथि प्रश्न उठाएको छ । तमिलनाडुमा फिल्म स्टारको राजनीतिक प्रभाव बलियो मानिन्छ ।


Facebook Comments