वर्तमान जटिलता चिरेर समृद्ध नेपाल निर्माण गरौं : संयोजक दाहाल

User Image मेयरसाप डेस्क | २०८२ असोज १३ गते १४:१३
Image of https://mayorsap.com/storage/photos/10/68da425251b8e.jpg

काठमाडौं । माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विजया दशमी २०८२ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै वर्तमान जटिलतालाई चिरेर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा लाग्न आह्वान गरेका छन् ।

उनले दशैँजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन, र शोकलाई शक्तिमा बदल्न सहयोग गर्ने विश्वास व्यक्त गरे । प्रचण्डले यी पर्वहरूलाई सामाजिक एकता र अग्रगमनका पक्षमा सङ्कल्पसहित मनाउन आग्रह गरे ।

जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने जटिल राजनीतिक परिस्थितिमा मुलुक उभिएको उनले बताए । संयोजक दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी लगायत संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका विषयलाई अब समेट्नुपर्ने बेला आएको औँल्याए ।

सन्देशमा माओवादी पार्टीले जेन–जीका मागलाई समर्थन तथा पछिल्लो राजनीतिक मनोविज्ञानलाई आत्मसात् गर्दै सङ्गठनात्मक शुद्धीकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको उल्लेख गरे ।


Facebook Comments