एसिया कप विवाद : भारतले ट्रफी लिन अस्वीकार गरेपछि आरोप–प्रत्यारोप

User Image मेयरसाप डेस्क | २०८२ असोज १३ गते २१:४६
Image of https://mayorsap.com/storage/photos/10/68da5b315b0fa.jpg

एजेन्सी । एसिया कप–२०२५ को फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरी उपाधि जितेपछि दुवै देशका टोलीबीच चर्को विवाद उत्पन्न भएको छ ।

फाइनल खेलपछि दुवै टोलीले हात मिलाउन अस्वीकार गरे । अवस्था तब झनै बिग्रियो जब भारतीय टोलीले पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष तथा एसिसीका प्रमुख मोहसिन नकवीबाट ट्रफी लिन र विजय समारोहमा सहभागी हुन अस्वीकार गर्यो ।

भारतीय कप्तानको गुनासो
पत्रकारहरूसँग कुरा गर्दै भारतीय कप्तान सूर्यकुमार यादवले ट्रफी अस्वीकार गर्ने सामूहिक निर्णय गरिएको बताए । उनले च्याम्पियन टोलीलाई ट्रफीबाट वञ्चित गरिएको गुनासो गरे ।

‘मैले क्रिकेट खेल्न थालेदेखि आजसम्म कहिल्यै देखेको थिइनँ कि च्याम्पियन टोलीलाई ट्रफी दिनै नमानिएको होस्,’ उनले भने । उनले ’भारत एसिया कप २०२५ को विजेता’ भनेर ठूलो पर्दामा देखिनु नै गौरव भएको बताए ।

पाकिस्तान कप्तानको असन्तुष्टि
यस घटनापछि पाकिस्तानका कप्तान सलमान अघाले गम्भीर असन्तुष्टि व्यक्त गर्दै भारतको व्यवहारलाई क्रिकेटप्रति अनादर भनेका छन् । उनले भने, ‘यदि उनीहरूले हामीसँग हात नमिलाएर हाम्रो अनादर गरेको सोच्दा हुन् भने, वास्तवमा उनीहरूले खेलको नै अनादर गरेका हुन् ।’

यसपटकको एसिया कप आणविक–सशस्त्र दुई छिमेकीबीच भएको घातक झडपपछि आयोजना भएकाले सुरुदेखि नै संवेदनशील मानिएको थियो । कप्तान अघाले यस्तो व्यवहार जारी रहेमा भविष्यमा क्रिकेट कहाँ पुग्छ भन्ने अनुमान गर्न नसकिने भन्दै चिन्ता व्यक्त गरे ।


Facebook Comments