लोप हुँदै गएको चर्खेपिङ संरक्षणमा बागलुङका स्थानीय

User Image मेयरसाप डेस्क | २०८२ असोज १३ गते १३:०८
Image of https://mayorsap.com/storage/photos/10/68da63f057644.jpg

गलकोट । दशैँको अवसरमा गाउँघरबाट लोप हुँदै गएको चर्खेपिङ संरक्षण गर्ने अभियान बागलुङका स्थानीयहरूले सुरु गरेका छन् । बढ्दो बसाइँसराइले जनशक्ति अभाव हुँदा करिब १३ वर्षपछि यहाँ चर्खेपिङ हाल्न थालिएको हो ।

बागलुङ नगरपालिका–९, सिगानाका राज जिसीले गत वर्षदेखि व्यक्तिगत ४० हजार रुपैयाँको लगानीमा आफ्नै प्रयासमा चर्खेपिङ निर्माण गरी संरक्षण थालेका हुन् । उनले यसलाई सबैको दायित्व भएको बताए ।

यसैगरी, बागलुङ नगरपालिका–५ को साँझखोलास्थित सुनाखरी सामुदायिक वन र स्थानीय युवाहरूको सक्रियतामा विगत चार वर्षदेखि चर्खेपिङ हाल्न थालिएको स्थानीय जुना न्यूरेले जानकारी दिए । 

न्यूरेका अनुसार लिङ्गे पिङको सट्टा परम्परा संरक्षणका लागि २० हजार रुपैयाँ खर्चिएर चर्खेपिङ तयार गरिएको हो ।

दसैँमा ‘भूँइ छाड्नुपर्छ’ भन्ने परम्परागत मान्यता पूरा गर्न चर्खेपिङ, रोटेपिङ र लिङ्गे पिङ हाल्ने चलन रहे पनि अहिले यो संस्कृति हराउँदै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । 

स्थानीय तहले यसको संरक्षण नगरे पाँच वर्षपछि लिङ्गे पिङ समेत हराउन सक्ने चेतावनी बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठले दिए ।


Facebook Comments