दशैँमा सुकुम्बासीको पीडा: 'मीठो मसिनो खाने रहर सपना मात्रै'
मेयरसाप डेस्क
|
२०८२ असोज १४ गते २०:०३
कञ्चनपुर । दशैँ घरआँगनमै आइपुगे पनि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित वनहरा शिविरका सुकुम्बासी (भूमिहीन) परिवारका लागि मीठो मसिनो खाने र नयाँ लुगा लगाउने रहर सपना मात्रै बनेको छ । दुई छाकको खाना जुटाउनै सङ्घर्ष गरिरहेका शिविरवासीका लागि दशैँले पीडा थपिदिएको छ ।
शिविरमा बसोबास गर्दै आएकी ६५ वर्षीया माथुदेवी दमाईंले कमाइ खाने जग्गा र काम नभएकाले साँझबिहानको छाक टार्नै कठिन भएको बताइन् । “दसैँमा मीठोमसिनो खाने रहर त छ, एकसुको पैसो छैन, हाम्रा दिन यसैगरी बित्ने भए,“ उनले भनिन् ।
शिविरमा अहिले बुढापाका, महिला र बालबालिका मात्रै छन् । युवाहरू मजदुरीका लागि भारततर्फ गएका छन् र कमाई नभएकाले तिहारमा मात्रै फर्किने खबर गरेका छन्। यसकारण, देउमती देवी बोहराले यसपालीको दशैँ खल्लो हुने बताइन् ।
वनहरा नदी किनारमा टालटुल गरेर बनाइएका झुपडी र दातृ निकायले दिएको त्रिपालमुनि बस्न बाध्य यी परिवार गर्मीले असह्य भएपछि राति पुलमुनि सुत्न बाध्य छन् । स्थानीय रणजित रावत लामखुट्टेको टोकाइ र ओढ्ने–बिछ्याउनेको अभावमा रात काट्नुपरेको दुखेसो पोख्छन् ।
दुई महिनाअघि बाढीले विस्थापित भएर फर्किएका उनीहरूले झुल, त्रिपाल र टर्चको व्यवस्था गरिदिन वडादेखि नगरपालिकासम्म धाउँदा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।
झन्डै दुई दशकदेखि भूमिहीन रहेका वनहरा शिविरका २८ परिवारले जग्गा र आवासका लागि निवेदन दिए पनि हालसम्म बसोबासको टुङ्गो लागेको छैन । हरेक वर्षझैँ यसपालिको दशैँ पनि उनीहरूको जीवनमा खुसीभन्दा पीडाको घाउ बोकेर आएको छ ।
Facebook Comments