नवरात्री मेलामा संस्कृति जोगाउँदै युवापुस्ता

User Image मेयरसाप डेस्क | २०८२ असोज १४ गते ०५:५०
Image of https://mayorsap.com/storage/photos/10/68dbb39e9215d.jpg

भक्तपुर ।  भक्तपुका नेवार समुदायका युवा पुस्ता दसैँमा परम्परागत बाजा बजाउँदै संस्कृति संरक्षणमा सक्रिय भएका छन् । घटस्थापनादेखि लाग्ने नौराते अर्थात नवरात्री मेलामा युवायुवतीको समूहले धिमेलगायतका बाजा बजाउँदै आ–आफ्नो टोलबाट मन्दिर जाने र फर्किने गरेका छन् । 

आ–आफ्नो टोलबाट बाजा बजाउँदै जानेआउनेको समूहले रात गुञ्जयामान हुने गरेको छ । नेवारी पोसाकमा सजिएका उनीहरुले टोलटोलबाट धिमे, बाँसुरी, झ्यालीलगायत बाजा बजाउँदै मन्दिर गएपछि नवरात्री मेलाको रौनकता थपिएको स्थानीय बताउँछन् ।

घटस्थापनादेखि नवमीको रातिसम्म यस्ता बाजाले दसैँको रौनकता थपिने टौमढीका स्थानीय विजय धौभडेल बताउँछन् । मेला भर्न शक्तिपीठ आउँदा दसैंँ अवधिमा साँझ र राति भक्तपुर बाजागाजाको धुनले गुञ्जायमान हुने दत्तात्रयका रामचन्द्र प्रजापति बताउँछन् ।

धिमे बजाउँदै नवरात्री मेलामा सहभागी हुन आउनुभएकी प्रतिमा श्रेष्ठले भने, ‘बाजा बजाउँदा आनन्द आउँछ । यो हाम्रो पूर्खाको देन पनि हो, पहिला केटी मान्छेले बाजा बजाउनु हुदैन भन्थे, अहिले त्यस्तो छैन । त्यसैले बाजामा आकर्षित भएको हुँ ।’

बाजा बजाउँदै मेला भर्न आउने युवतीको सङ्ख्या पनि हरेक वर्ष बढ्दै गएको छ । “पहिले बाजा बजाउनेमा बढी सङ्ख्या युवकको हुन्थे भने अहिले बाजाप्रति युवतीको आकर्षण उत्तिकै बढेको छ”, बाजा टोलीमा झ्याली बजाउँदै आएकी सुनिता खर्बुजाले भनिन् ।

भक्तपुरका संस्कृतिविद् प्रकाश धौभडेलले बाजाप्रति युवायुवतीको आकर्षण बढेको देखेर लापोन्मुख बाजाहरुको संरक्षण हुनेमा ढुक्क भएको बताए ।


Facebook Comments