मन्त्री घिसिङद्वारा बीपी राजमार्गको निरीक्षण, पुनर्निर्माणमा तीव्रता दिन निर्देशन
मेयरसाप डेस्क
|
२०८२ असोज १५ गते १८:४१
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकासमन्त्री कुलमान घिसिङले आज (बुधबार) बीपी राजमार्गको निरीक्षण गरेका छन् ।
चाडपर्वका बेला यात्रुले भोग्नुपरेका समस्या र गत वर्षको बाढीले क्षतिग्रस्त सडकको पुनर्निर्माण अवस्था बुझ्न उहाँ सडक विभागका महानिर्देशकसहित फिल्डमा खटिएका हुन् ।
मन्त्री घिसिङले यात्रुहरूलाई सास्ती नहोस् भन्नका लागि अस्थायी ट्राफिक व्यवस्थापनलाई चुस्त राख्न र स्थायी पुनर्निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिए ।
१६० किलोमिटर लम्बाइ रहेको बीपी राजमार्गको ३०.५ किलोमिटर खण्ड गत वर्ष असोजको बाढीले क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्तमध्ये २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ ।
बाँकी खण्ड जाइका (जापान) को अनुदान सहयोगमा निर्माण हुनेछ । हाल इन्टरमिडियट लेन रहेको क्षतिग्रस्त खण्डलाई पुनर्निर्माणपछि दुई लेनको बनाइने जनाइएको छ ।
Facebook Comments