मध्यपहाडी लोकमार्गको दूरावस्था : वर्षातमा यात्रुलाई सास्तीनै सास्ती

User Image मेयरसाप डेस्क | २०८२ असोज १८ गते १८:५४
Image of https://mayorsap.com/storage/photos/10/68e0a8be2b778.jpg

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा सामान्य वर्षा हुँदा पनि लेदोसहितको बाढी आउने र सडक अवरुद्ध हुने समस्याले यात्रुहरूले सास्ती भोगिरहेका छन् ।

चार वर्षअघि कालोपत्र भएको लोकमार्गको उक्त खण्डमा बाढीले करिब दुई मिटर सडकमा क्षति पुर्याएको छ । सडक जीर्ण बन्दा निरन्तरको वर्षाले एक सातासम्म पनि लोकमार्ग बन्द हुने गरेको छ ।

लोकमार्ग बन्द हुँदा पश्चिम बागलुङसहित पूर्वी तथा पश्चिम रुकुम, रोल्पा, जाजरकोट, सल्यान, डोल्पा लगायत जिल्लाबाट काठमाडौँ, पोखरा लगायतका शहर जाने हजारौँ यात्रुहरू अलपत्र पर्ने गरेका छन् ।

गाडी चालक प्रितम थापा मगरका अनुसार बाढीले गाडी फस्ने र समयमा सडक नखुल्दा सडकमै बास बस्नुपर्ने बाध्यता छ ।

मध्यपहाडी लोकमार्गका सूचना अधिकारी उज्वल शर्माले गाउँपालिकाले निर्माण गरेको ग्रामीण सडक व्यवस्थित नहुँदा त्यहाँबाट बगेर आउने लेदोले लोकमार्गमा क्षति पुगेको बताए ।

आयोजनाले बाढी पन्छाउन एउटा मेसिन स्टान्डबाई राखेको र दीर्घकालीन समाधानका लागि ग्रामीण सडक नै व्यवस्थित गर्नुपर्ने निचोडसहित सडक विभागमा पत्र पठाउने तयारी भइरहेको जनाएको छ ।


Facebook Comments