शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आयोगको आग्रह

User Image मेयरसाप डेस्क | २०८२ असोज २२ गते २३:५५
Image of https://mayorsap.com/storage/photos/10/68e60eb4c0261.jpg

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकको विकसित परिस्थितिमा शान्ति सुरक्षा बलियो बनाउन र सबै पक्षलाई संयम र मर्यादित रहन आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले हिंसात्मक गतिविधि, अरूप्रति लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने भन्दै यस्ता कार्य तत्काल रोक्न आग्रह गरेको छ ।

आयोगले शान्ति सुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्यता र संयमतापूर्वक आवश्यक कदम चाल्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु, सामाजिक सद्भाव कायम राख्नु र स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत वर्तमान संक्रमणकालीन अवस्थालाई निकास दिनु राज्य र आम नागरिकको कर्तव्य रहेको आयोगले स्मरण गराएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार, भदौ २३ र २४ गतेको हिंसात्मक कार्य र आगजनीमा भएको मानव अधिकार उल्लङ्घनको घटनाको अनुसन्धानलाई आयोगले तीव्रता दिइरहेको छ ।

आयोगले विभिन्न समूहलाई आगामी प्रदर्शनलाई मर्यादित बनाउन र जनमतमा आधारित स्वच्छ राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।


Facebook Comments