उज्यालोको खोजिमा दृष्टिविहीन राना दम्पती

User Image मेयरसाप डेस्क | २०८२ असोज २२ गते ०२:२३
Image of https://mayorsap.com/storage/photos/10/68e617954a52d.jpg

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका रामा राना र सुदामा राना जन्मजात दृष्टिविहीन दम्पती हुन् । जीवनको भौतिक दृष्टि गुमाए पनि उनीहरूको मनको उज्यालो र जीवनप्रतिको सकारात्मक सोच भने कहिल्यै निभेको छैन ।

विसं २०५२ मा विवाह बन्धनमा बाँधिएका यो दम्पतीको मुख्य सहारा छिमेकी र गाउँलेहरू नै हुन् । उनीहरू हाल बसोबास गरिरहेको छ–सात धुर जग्गाको सानो घर समेत छिमेकीहरूको सहयोगमा बनेको हो । “हामीसँग जग्गा नभए पनि असल छिमेकीले घर बनाइदिएर बस्न पाएका छौँ,“ रामाले भने ।

रामा र सुदामा दुवैले अपाङ्गताको आधारमा नीलो कार्ड पाएका छन् र वडा कार्यालयबाट नियमित भत्ता पाउँछन् । यही भत्ताको रकम नै उनीहरूको नुन, तेल, चामल र औषधोपचारको मुख्य स्रोत हो ।

यसबाहेक, रामाले बाल्यकालदेखि नै सिकेको झारफुकको काम पनि गर्छन् । उनले भने, “झारफुक गराउँदा ठीक भएका मानिसहरूले खुसी भएर केही पैसा दिनुहुन्छ।“ यही सानो आम्दानीले उनीहरूको घरखर्चमा थप राहत पुगेको छ ।

दम्पतीलाई खाना पकाउनेदेखि घर सफा गर्नेसम्मका दैनिक कार्यमा छिमेकीहरूले सहयोग गर्छन् । सन्तान नभए पनि सुदामा भने अन्दाज र अनुमानका भरमा कपडा धुने लगायतका ससाना घरायसी काम आफैँ गर्ने प्रयास गर्छिन् ।

स्थानीय नवराज पन्तले राना दम्पतीलाई ’साँचो माया र सहानुभूतिको उदाहरणीय जोडी’ को रूपमा वर्णन गरे । ‘कठिनाइका बीच पनि उहाँहरू कहिल्यै गुनासो गर्नुहुन्न, बरु उहाँहरूको आत्मबलले गाउँका अरूलाई पनि जीवनप्रतिको दृष्टिकोण सिकाएको छ,’ पन्तले भने । सुदामा मुस्कुराउँदै भन्छिन्, ‘आँखा देखिँदैन तर मनको उज्यालो कहिल्यै निभ्दैन ।’

रामा र सुदामाको जीवन अँध्यारो संसारमा पनि आत्मबल, माया र सहानुभूतिको उज्यालोले कसरी जीवनलाई दृढतापूर्वक अगाडि बढाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ ।


Facebook Comments